‘ए’ डिभिजन लिगमा खेल मिलेमतो गरे कडा कारवाही हुने

काठमाडौं । भोली ‘शनिबार’देखि काठमाडौंमा शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ । 

अखिल नेपाल फुटबल संघ ‘एन्फा’द्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताए । लिग संयोजक विज्ञानराज शर्माले भने, “हामीले लिग हुने दुवै मैदानमा सिसी क्यामेरा राख्नेछौँ, त्यस्तै अर्को क्यामेरा पनि हुनेछ, म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार कारवाही गर्छौँ ।” 

लिगका खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । 

साङ्गीतिक प्रस्तुतिका साथ लिगको उद्घाटन हुने जानकारी एन्फाले दिएको छ । नेपालका चर्चित कलाकारको प्रस्तुति रहने उक्त साङ्गीतिक प्रस्तुति ४५ मिनेटको हुनेछ । 

उद्घाटनका अवसरमा विश्व फुटबल महासङ्घ ‘फिफा’का दक्षिण एशिया ‘रिजनल डेभलपमेन्ट अफिसर’ प्रिन्स रफस समेत नेपाल आउने एन्फाले जनाएको छ । 

प्रि-म्याच कन्फ्रेन्स 

‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले लिग अघि शुक्रबार सबै १४ क्लबका प्रशिक्षकलाई राखेर ‘प्रि-म्याच कन्फ्रेन्स’ आयोजना गरिने बताए । 

उनले यसबाट सबै क्लबलाई आफ्नो तयारी र लिगको टार्गेटको बारेमा जानकारी गराउने सकिने उनले जानकारी दिए । लिगको मार्केटिङ र प्रमोसन पार्टनरको रुपमा रहेको रामसार मिडियाले पल्सर बाइकसँग ‘ए’ डिभिजन लिगको लागि टाइटल स्पोनसरको सम्झौता गरिसकेको छ । सम्झौतापछि लिग पल्सर शहीद स्मारक ए डिभिजन लिगको नामबाट सञ्चालन हुनेछ । 

पाँच वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्युरोड टिम ‘एनआरटी’ र विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

लिगको दोस्रो खेल आइतबार सङ्कटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् । रेलिगेसन नहुने लिग आगामी माघ १६ गतेसम्म हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?