धर्मश्री राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता : प्रायोजक पाउनै गाह्रो, ३३ वर्षमा १५ संस्करण मात्रै

काठमाडौं । नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले धर्मश्री राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको १५ औँ संस्करणसम्म आइपुग्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माइसकेको बताएका छन् । 

शहिद धर्मभक्त माथेमाको सम्झनामा हरेक दुई-दुई वर्षमा आयोजना गर्दै आइरहेको यो प्रतियोगिताको मुख्य उद्देश्य भनेको नयाँ खेलाडी उत्पादन गर्नु रहेको उनले जानकारी दिए । 

‘‘देशमा प्रजातन्त्र स्थापना गर्नका लागि बलिदानी दिएका शहिद धर्मभक्त माथेमाको सम्झनामा यो प्रतियोगिताको स्थापना गरेका हौँ, हाम्रो एम भनेको नयाँ खेलाडी जन्माउनु हो, स्वास्थ्य शरिर, स्वस्थ्य मनोस्थिती र स्वस्थ्य समाज निर्माण गर्नु पनि हो’’ उनले लोकपथलाई भने । 

साथै, अध्यक्ष प्रधानले वि.सं २०४२ सालदेखि शुरु भएको धर्मश्री शारीरिक प्रतियोगिता प्रायोजक नपाए कै कारणले दुई-दुई वर्षमा आयोजना गर्न बाध्य भएको समेत बताए । 

‘‘हामीले यो प्रतियोगिता शुरु गरेको तीन दशक नाघिसक्यो, तर प्रतियोगिता भर्खर १५ औँ संस्करणसम्म आइपुगेको छ, वर्षको आधारमा यो प्रतियोगिताको संस्करण धेरै हुनु पर्ने हो, कारण हामीसँग सिधा प्रायोजक छैन, एउटा आउट जान्छ, फेरि अर्को आउछ जान्छ, नियमित रुपमा हामीले प्रायोजकको साथ पाएको छैन, म दुःखका साथ भन्छु, हामीले धेरै कष्ट सहेर खेलाडीहरु जन्माइरहेका छौँ’’ उनले भने । 

उनी थप्छन्, ‘‘कुनै पनि खेललाई नभई नहुने भनेको फिटनेस हो, चाहे फुटबल हो, कराँते, तेक्वान्दो लगायतका सबै खेललाई फेटनेश अनिवार्य चाहिन्छ’’

खेलकुद क्षेत्रमा लागेर पछुताउने खेलाडीहरु धेरै छन् । एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानधारी केशरी चौधरी आर्थिक संकटकै कारण खाडी मुलुक भासिरहन्दा शारीरिक सुगठनका खेलाडीहरुले भने त्यो संकट अहिलेसम्म नबेहोरेको अध्यक्ष प्रधानले बताए ।

 ‘‘हामीसँग भएको प्राय सबै खेलाडीहरु आत्मनिर्भर छन, आजसम्म जति पनि बडि बिल्डरहरु जन्मिएका छन, त्यसको सबै श्रेय नेपाल व्यायाम मन्दिरलाई जान्छ, व्यायाम मन्दिरबाट खेल्ने हरेक खेलाडीहरुले जिम क्लबहरु खोल्दै रोजिरोटी गरिरहेका छन्, देश बाहिर रहेका खेलाडीहरुले पनि जीम प्रशिक्षक भएर काम गर्दै आफ्नो माना भरिरहेका छन्’’ उनले भने । 

त्यस्तै, अध्यक्ष प्रधानले शहिद धर्मभक्त माथेमाको नाममा नियमित प्रतियोगिता आयोजना गर्र्न सरकारी पक्षबाट कुनै सहयोग नपाएको गुनासो पोखे ।

उनी भन्छन, ‘‘सधैभरि यो आयोजना गर्ने हाम्रो सोच छ, तर हामीले त्यसलाई निरन्तरता दिन सकिराखेका छैनौँ, जहिल्यै हामी कति  प्रायोजक खोज्दै हिड्ने, अब त अलि गाह्रो लागिसक्यो, आउँदो दिनमा सरकारले पनि हेरोस भन्ने हाम्रो चाहाना छ’’ 

अहिले शारीरिक सुगठनमा लाग्ने खेलाडीहरुको पनि वृद्धि भएको उनले बताए । धर्मश्री शारीरिक प्रतियोगिता खेल्न नेपाल बाहिर रहेका नेपाली खेलाडीहरु पनि सहभागी हुन आउने गरेको उनले जानकारी दिए । 

अध्यक्ष प्रधानले आगामी दिनमा महिला धर्मश्री नामक शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताए ।

 ‘‘मेरो पनि चाहना छ, महिलाको नाम धर्मश्री शारीरिक सुगठन च्याम्पियनसीप गर्ने, मेरो आफ्नै छोरी लुना प्रधान पहिलो मिस्टर काठमाडौं बडिबिल्डीङको मेडललिस्ट हुन्, मैले महिलालाई जहिल्यै पहिलो प्राथमिकतामा राख्दै आइरहेको छु, आशा गरौं महिलाहरुलाई पनि धर्मश्रीको नाम दिएर च्याम्पियनसिप आयोजना गर्ने योजना रहेको छ’’ उनले थपे । 

१५ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हुँदै

यहि असोज १९ र २० गते १५ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । 

नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुने प्रतियोगितामा ७ स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । देशभरीबाट ४ सय खेलाडीहरुको सहभागिता रहने यो प्रतियोगिताको प्रत्येक तौल समूहबाट ६ जना खेलाडी फाइनल चरणको लागि छनोट हुनेछन् । 

प्रतियोगितामा ५० केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

असोज १९ गते प्रि-जजिङ राउण्ड र २० गते फाइनल चरणको खेल हुनेछ । प्रतियोगिताको सम्पूर्ण खेल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रतियोगिताको लागि ४० लाख रुपैँया खर्च हुने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । गतवर्ष यो प्रतियोगिताको उपाधि अर्जुन बर्नवालले जितेका थिए । 

 

सर्वाधिक पुरस्कार राशी
१५ औँ धर्मश्री राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको पहिलोदेखि सातौँ स्थान हात पार्ने खेलाडीहरुले पुरस्कार पाउने भएका छन । 

प्रतियोगिताको ‘ओभर अल’ विजेताले नगद ५ लाख रुपैयाँ हात पार्नेछन् । त्यस्तै, उपविजेता बन्ने खेलाडीले २ लाख, तेस्रो हुनेले १ लाख तथा चौथों हुने खेलाडीले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
पाँचौ हुने खेलाडीले ८० हजार, छैटौं हुनेले ७५ हजार तथा सातौं हुने खेलाडीले ६० हजार रुपैयाँ जित्नेछन् । 

प्रतियोगिताको विजेताले ५ लाख, उप विजेताले २ लाख, तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सातौं हुने सम्मका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैगरी तौल समूहमा दोस्रो र तेस्रो हुनेले पनि २५ र २० हजार पाउनेछन् । यसै वर्षदेखि ‘ओभर अल’को चौथोंमा १० हजार र तौल समूहको दोस्रो र तेस्रोमा ५-५ हजार नगद रुपैयाँ वृद्धी गरेको नेपाल व्यायाम मन्दिरले जानकारी दिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?