एशिया कप क्रिकेट: नेपालले भारतसँग भिड्ने

काठमाडौं । बंगलादेशमा भोली ‘शनिवार’ देखि शुरु हुने यू–१९ एशिया कपको उद्घाटन खेलमा नेपालले भारतसँग भिड्ने भएको छ । 

नेपाली टोली टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित  मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । 

त्यतिबेलाको प्रतियोगितामा नेपाल पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको थियो । गत संस्करणको खेलमा भारत नेपालसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको थियो ।प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स ‘युएइ’ छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन्। 

एशिया कप हुनुअघि भारतमा भएको एक दिवसीय सिरिजमा नेपाल भारतको ‘ए’ र ‘बी’ दुबै टोलीसँग पराजित भएको थियो । त्यस्तै अफगानिस्तान विरुद्धको खेलमा भने नेपाल विजयी भएको थियो। 
त्यसपछि तेस्रो स्थानको लागि भएको भिडन्तमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । 

नेपाली टोलीमा कप्तानको भूमिका मोहम्मद आसिफ शेखले निर्वाह गर्नेछन् भने उपकप्तान कमल सिहं ऐरी छन् । टोलीको अन्य खेलाडीमा रोहितकुमार पौडेल, रवी शाह, सूर्य तामाङ, पवन शर्राफ, रवीन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन् । 

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास तथा सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । दुबै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?