सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ ।
समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्ने कुरा पनि हो, यो माथिको निर्देशनअनुसार यहाँ अगाडि बढेको कुरा हो,’ अध्यक्ष केसीले भनिन् ।
स्रोतकाअनुसार माओवादीबाट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो । उनीहरूको ठाउँमा जाजरकोटकी कृष्णा शाह र रूकुम पश्चिमका रातो कामी मन्त्री बन्ने स्रोतले बतायो ।
स्रोतका अनुसार उनीहरूमध्ये को कुन मन्त्री हुने भन्ने टुंगो भने लागेको छैन । कर्णाली प्रदेश सभामा रहेका माओवादीका ११ जना सांसदमध्ये यी दुई जना मात्र मन्त्री बन्न बाँकी थिए । डोल्पाका वीरबहादुर शाही केही दिनअघि मात्र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया