काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत विभागिय क्लब त्रिभुवन आर्मी क्लबले न्युरोड टिम ‘एनआरटी’सँग बराबरी खेलेको छ ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिवार भएको आर्मी क्लब र एनआरटी क्लबबीचको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।
खेल शुरु भएको १२ मिनेट पनि बित्न नपाउँदै एनआरटीका लागि रन्जित पुडासैनीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । उनले राजेश परियारको पासलाई सदुपयोग गर्दै गोल गरे ।
त्यस्तै, खेलको ३८ औँ मिनेटमा आर्मीले पेनाल्टी हान्ने मौका पायो । एनआरटीका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । जसलाई सन्तोष तामाङले सदुपयोग गर्दै गोल गरे र खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-१ गोलको बराबरीमा रोकिएको एनआरटीका लागि खेलको ६४ औँ मिनेटमा राजेश परियारले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
रोमाञ्चक बनेको खेल सकिनै लाग्दा आर्मीका लागि पुनः सन्तोष तामाङले गोल गर्दै खेललाई २-२ गोलको पुर्याए । त्यसपछि खेलमा थप गोल भएन र खेल २-२ गोलको बराबरीमा सकियो । बराबरीपछि दुवै क्लबले समान एक-एक अंक बनाएको छ ।
प्रतियोगिता अन्तर्गत भोली ‘आइतवार’ सरस्वती क्लबले संकटा कलबको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया