काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले बंगबन्धु गोल्डकप फुटबलको उपाधि जित्न लक्ष्य रहेको बताएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतवार भएको बिदाइ कार्यक्रम पछि बोल्दै कप्तान महर्जनले नेपाल डिफेन्डिङ च्यािम्पयनको हैसियतले यो पटक पनि बंगबन्धु गोल्डकपको उपाधि जित्न सक्दो मेहेनत र प्रयास गर्ने प्रतिकृया दिएका हुन् ।
‘‘हाम्रो सबै खेलाडीहरुले क्लबमा ट्रेनिङ गरेकाले अहिले फिट छन्, सबै जना राम्रो फममा छन्, हार्मीले प्रतिस्पर्धा गर्ने टिमहरु फिफा र्याङकिङमा पनि उच्च स्थानमा छन्, त्यसैले हामीलाई खेल्न निक्कै चुनौती हुनेछ’’ उनले लोकपथलाई भने।
साथै, उनले नेपालले प्रतिस्पर्धा गर्ने टिमहरुले निक्कै बलियो रहेको पनि जानकारी दिए । ‘‘पक्कै पनि ताजकिस्तान र प्यालेस्टाइन नेपाल भन्दा बलियो छ, यसको मतलब यो हैन् की हाम्रो टिम चाही कमजोर छ, हामीले पहिल्यै नै यी टिमहरुसँग खेल खेलिसकेका छौँ, नेपाल पनि यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन भएकोले हामीले पहिलेको तुलना भन्दा यस पटक अझै सुधारिएको खेल खेल्नेछौँ’’ उनले थपे ।
कप्तान महर्जनले किरण चेम्जोङ र रोहित चन्दको अनुपस्थिति टिममा केही गाह्रो हुने पनि बताए ।
‘‘किरण र रोहित टिममा नहुँदा केही गाह्रो चाही पक्कै हुन्छ, टिमको ब्यालेन्स पनि तलमाथि हुन्छ, तर, बैकल्पिक खेलाडीहरुले त्यो अभाव पूरा गर्नेछ भन्ने मलाई पूर्ण रुपमा आशा छ’’ उनले बताए ।
यस पटकको यो प्रतियोगितामा नेपालका गोलरक्षक किरण लिम्बु र रोहित चन्द भने विदेशी लिगका कारण टिममा सहभागी छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङलाई टिममा राखेको मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जानकारी दिएका थिए ।
बंगबन्धु गोल्डकप फुटबल भोली ‘सोमवार’देखि बंगलादेशमा शुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने नेपाली टोली आइतवारै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
समूह ‘ए’ मा रहेको नेपालको खेले मंगलबार रहेको छ । नेपालले आफ्नो समूहको पहिलो खेलमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।
समूहमा तीन टिम मात्रै रहेकाले एक खेल जित्न सकेको खण्डमा पनि सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाउने छ ।
प्रतियोगिता अन्तर्गत समूह चरणको खेलहरु बंगलादेशको सिलेतमा तथो सेमिफाइनलका खेलहरु कक्स बजारमा सञ्चालन हुनेछ । फाइनल खेल भने राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ ।
सन् २०१६ मा भएको बंगबन्धु गोल्डकपको उपाधि नेपालले जित्दै नयाँ इतिहास रचेको थियो । त्यतिबेला नेपालले बहराइनलाई ३-० गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
बंगलादेश फुटबल फेडेरेसनले बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा सन् १९९६ देखि आयोजना गरेको यो प्रतियोगिता पाँचौ संस्करणसम्म आइपुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया