काठमाडौं । नेपालीहरुका महानचाडपर्व दशैं, तिहार, छठ र नेपाल सम्वत वर्षको शान्तिसुरक्षाका लागि काठमाडौं जिल्लामा मात्र ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वका लागि विशेष सुरक्षा योजना सार्वजनिक गर्दै, विशेष सुरक्षा योजना अन्तर्गत छ क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जनाएको छ ।
परिसर प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले सर्वसाधारणको घर सम्पति, व्यक्तिगत सुरक्षा, विशिष्ठ व्यक्ति, शक्तिपिठ तथा मठ मन्दिरहरु, सार्वजनिक यातायात, बैंक तथा वित्तिय संस्था, ब्यापारी क्षेत्र, काठमाडौं उपत्यका प्रवेश नाका, गेष्टहाउस तथा होटललाई निगरानीमा राखिएको बताए ।
चाडवाडमा आर्थिक पक्षसँग सम्बन्धित अपराधका घटनाहरु जस्तो चोरी, लुटपाट, डकैति, पकेटमारी, सिक्री लुट्ने, विषाक्त मदिरा सेवन, झै–झागडा, गुण्डागर्दी, जुवा तास, ट्राफिक नियमको उल्लघंन, कालोबजारी, दुर्घटना र ठगी बढी हुने भएकाले यस्ता अपराधमा विशेष निगरानी राखिएको जानकारी पनि उनले दिएका हुन् ।
काठमाडौं जिल्लाको मुख्य प्रवेश नाका नागढुङ्गा, टोखा, मुड्खु, रामकोट, फर्पिङ लगायतका क्षेत्रमा कुकुर सहितको नियमित सुरक्षा चेकजाँच गर्ने जनाइएको छ । चाडवाडको सुरक्षाका लागि काठमाडौंलाई १४ भागमा विभाजन गरी ६० वटा पैदल गस्ती, ६१ पिकेटिङ, ३६ साइकल गस्ती, ३० वटा हतियार सहितको मोटरसाइकल गस्ती, र २४ वटा मोटरगस्ती तयार पारिएको छ ।
त्यस्तै, सादा पोशाकमा सूचना संकलन गर्न ७० जना, विभिन्न स्थानमा सिल एण्ड सर्च कारवाहीका लागि ३० जना, कर्डन एण्ड सर्च कारवाहीका लागि ३० जना, एम्वुसिङका लागि ३० जना, कुकुर सहित सातजना, नाकाबन्दी गर्न २४ जनाको छुट्टा छुट्टै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राजधानीका कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ वसपार्क, गौशाला, चावहिल, कोटेश्वर र हलचोकमा गरी १० स्थानमा हुने टिकको कालोबजारी, यात्रुमाथि ठगी र क्षमता भन्दा बढी याुत्र राख्ने विरुद्ध प्रहरी सहायता कक्ष स्थापन गरी सुरक्षा कारवाही अभिायन अगाडि बढाएको जानकारी परिसर प्रमुख लामाले दिएका हुन ।
यसवर्षको चाडवाडलाई शान्त, सुरक्षित र दुर्घटना रहित बनाउन सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र, नागरिक समाज, विभिन्न क्लवहरु, टोलसुधार समितिसँग सहकार्य गरी जनचेतना मूलक र सुरक्षात्मक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
प्रत्येक टोल तथा गल्लीहरुमा प्रचा वितरण र माइकिङ गरिने छ । दशैंमा प्राय धेरै घर जन्मघरमा जाने भएकाले घर तथा पसल, सरकारी कार्यालय तथा सार्वजनिक सम्पतिको सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया