काठमाडौं । एनआईसी एशिया बैंकले चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ ।
समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एप (एनआईसी एशिया मो बैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो ।
बैंकले भाद्र १५ देखि कात्र्तिक १५ गतेसम्म लागु हुने गरी ल्याएको नयाँ योजनामा ग्राहकहरूले (एनआईसी एशिया मो बैंक) प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । ‘सेल्फ हेल्प’ बैंकिङ्गको अवधारणा अनुरुप (एनआईसी एशिया मो बैंक) मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहक महानुभावहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको फाइदा उठाउन सक्नेछन् ।
योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो (एनआईसी एशिया मो बैंक) बाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । पाण्डेले दिएको जानकारी अनुसार यो सेवामा सहभागिता जनाउन बैंकका ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको (एनआईसी एशिया मो बैंक) भित्र रहेको (आईरेमीट) आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवम् ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।
यसरी दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वासे लिएको बैंकले जनाएको छ ।
हाल मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया