काठमाडौं । बंगलादेशमा भएको यू–१९ एशिया कप क्रिकेटमा नेपालले सान्त्वना जीत हात पारेको छ ।
यसअघि समूह चरणबाटै बाहिरिसकेको नेपालले समूहको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ‘युएई’लाई ३ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको हो । साभर जिल्ला मैदानमा मंगलवार भएको अन्तिम खेलमा युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले इनिङको ५ बल अगावै ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि तृपराज दासले ६ तथा रित गौतमले १८ रनको योगदान दिए । कप्तान आसिफ शेख र सन्दीप जोराले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । आसिफले ३५ रन जोडे । रोहितकुमार पौडेलले सन्दीप जोरासँग मिलेर ४९ रनको साझेदारी गरे ।
त्यस्तै, सन्दीपले सर्वाधिक ६७ रन बनाउँदै पेभेलियनमा फर्किएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि फाहद नावाजले सर्वाधिक ८४ रन तथा अंश टण्डनले ६७ रनको योगदान दिए । नावाज र टण्डनले पहिलो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ नेपालका नन्दन यादव, रशिद खान र पवन सर्राफले समान २-२ विकेट लिएका थिए । यता सागर ढकाल र सोनु तामाङले युएईको १-१ लिन सफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया