आज काठमाडौंस्थित दशरथ रंगशालामा महिला साफ च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाली महिला फुटबल टिमका लागि सहभागी हुने सबैभन्दा ठूलो प्रतियोगिता भनैकै साफ च्याम्पियनसिप हो । २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिप फुटबलको सबैजसो फाइनलमा पुगे पनि नेपालले अहिलेसम्म उपाधिलाई आफ्नो पोल्टामा पार्न भने सकेको छैन । नेपालले पहिलो खेलमा भुटानको सामना गर्दैछ ।
नेपालले यस अघिका साफमा जति तयारी गरेको भएपनि भारत सबैभन्दा ठूलो तगारो बन्ने गरेको छ । भारत पहिलो संस्करणदेखि लगातार च्याम्पियन बन्दै आएको छ । नेपालमा २०१६ मा भएको साफमा बाहेक सबै संस्करणमा फाइनलमा पुगेर भारतसँग पराजित भएको छ । २०१६ मा पनि नेपाल सेमिफाइनलमा भारतसँगै पराजित भएको थियो । यसपटक भने नेपाल भारतलाई पन्छ्याएर उपाधि चुम्न चाहन्छ ।
घरेलु मैदानले जगाएको आश
साफको छैटौं संस्करण नेपालमा आयोजना हुने भएसँगै यो पटक नेपाल जसरी पनि उपाधि घरमै राख्ने दाउमा छ । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल च्याम्पियन बन्ने योजनामा छ । त्यसो त, नेपालले पाँचौ संस्करण र अन्य दुई प्रतियोगिता घरेलु मैदानमै आयोजना हुँदा पनि जित निकाल्न सकेको थिएन ।
नेपाली टीम विगत सात हप्तादेखि अभ्यासमा छन् । टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ जनाबाट पहिलोपटक ३५ जनालाई छनोट गरेका छन् । पहिलो चरणमा छनोट भएका ३५ जनामध्ये पनि उनले २३ खेलाडी छनोट गरेका छन् । अहिले छनोट भएका खेलाडीबाट सन्तुष्ट भएको र उनीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा थापा विश्वस्त छन् ।
यसपटक टिममा दीपा शाही, समीक्षा घिमिरे र अमिषा कार्की थपिएका छन् भने घुँडाको उपचारपछि सावित्रा भण्डारी र मुटुको उपचारपछि पुनम मगर टिममा फर्किएका छन् । त्यस्तै, रेखा पौडेलले पनि लामो समयपछि टिममा स्थान बनाएकी छिन् । तर, नेपाली टिम कप्तान रेनुका नगरकोटी घाइते भएकी छिन् ।
इतिहासलाई फर्केर हेर्दा
सन् २०१० मा औपचारिक रुपमा महिला साफ च्याम्पियनसिपको आयोजना भएको थियो । बंगलादेशमा आयोजना भएको पहिलो महिला साफमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा पनि नेपालले शानदार प्रदर्शन गर्दै बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनल पुग्यो । फाइनलमा नेपालले भारतको सामना गरेको थियो । त्यो बेलाको रोचक पक्ष के थियो भने नेपाल र भारत दुवै टोली एक गोल पनि नखाइ फाइनल पुगेका थिए । अघिल्ला खेलहरुमा गोलको वर्षा गरिरहेको नेपालले भारतसँग एक गोलले पराजय भोग्नु पर्यो ।
दोस्रो संस्करण
दोस्रो संस्करण पनि नेपाललाई फाइनलसम्म फापेकै थियो । श्रीलंकाको कोलोम्बोमा भएका समूह चरणका खेलहरुमा नेपालले पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले पराजित गर्दै नेपाल सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३–० को गोलअन्तरले पराजित गरेसँगै भारतसँगको फाइनलको भेट पक्का गरको थियो । उक्त फाइनल खेलले नेपाली समर्थकमा खुशीको बहार ल्याएको थियो, किनभने नेपालले खेल सुरु भएको तीन मिनेटमै भारतविरुद्ध एक गोल गरेको थियो । तर, खुशी लामो समय टिक्न सकेन । सुरुवाति अग्रता जोगाउन नसक्दा नेपालले पुनः भारतसँग ३ १ गोल अन्तरको हार ब्यहोरेको थियो ।
तेस्रो संस्करण
पाकिस्तानको इस्लामावादमा भएको तेस्रो संस्करणमा नेपालको त्यस्तै नियति बन्यो । फाइनलमा नेपाल र भारतको भेट भयो । फाइनलसम्म पुग्न नेपालले समूह चरणमा भुटानलाई ८–०, पाकिस्तानलाई २–० र श्रीलंकालाई ३–० ले पराजित गर्यो । सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले फाइनलमा इन्ट्री त पायो तर तेस्रो संस्करणको फाइनल सायद नेपाली फुटबल टोली र नेपाली फ्यानहरुले सहजै भुल्न सक्ने बनेन ।
भुलुन् पनि कसरी, नेपालले भारतसँग ६–० को फराकिलो गोलअन्तरको सामना गर्नुपर्यो । भारतसँगको अघिल्ला हारहरुको बदला तिरेर उपाधि चुम्ने उदेश्य बुनेको नेपाली टिमले फाइनलमा आधा दर्जन गोलको सामना गर्नुपरेको थियो ।
चौथो संस्करण
चौथो संस्करणमा भने नेपालको यात्रा सेमिफाइलनमै टुंगियो । भारतको सिलिगुढीमा भएको उक्त च्याम्पियनसीपमा नेपालले समूह चरणको खेलमा भुटानलाई ८-०, माल्दिभ्सलाई ९-० र श्रीलंकालाई १-० ले पराजित गरेको थियो । पाकिस्तानले उक्त संस्करणमा सहभागिता नजनाएको कारण नेपाललको भारतसँग सेमिफाइनलमै भेट भयो ।
नेपालले भारतसँग ३-१ गोल अन्तरको हार व्यहोर्यो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गरे र भारतले चौथो पटक साफको उपाधि आफ्नो पोल्टोमा पार्यो ।
पाँचौ संस्करण
पाँचौ संस्करणमा नेपालले पहिलोपटक घरेलु मैदानमा साफ खेल्न पाएको थियो । विराटनगरमा आयोजित उक्त संस्करणमा नेपालले समूह चरणका खेलमा भुटानलाई ३–० र बंगलादेशलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फेरि चौथोपटक फाइनलमा पुगेको थियो । घरेलु मैदान भएकाले पनि नेपाललाई त्यसपटक थप उर्जा र उपाधि घरेलु मैदानमै राख्ने दबाब थियो । तर, नेपाल चौथोपटक पनि भारतसँग फाइनलमा पराजित भयो । नेपाललाई ३–१ गेल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौपटक च्याम्पियन बन्यो ।
यसपाली के छ तयारी ?
विगत ७ हप्ता देखि नेपाली महिला फुटबल टिमले अभ्यास थालेको छ । कहिले सेन्ट जेभियर स्कूलको खेल मैदानमा त कहिले एन्फाको खेल मैदानमा उपाधी चुम्ने लक्ष्यले उनीहरुले पसिना बगाइरहेका छन् । प्रशिक्षक थापा पनि नेपाललाई जित दिलाउन लागि परेका छन् ।
विगत ७ हप्तादेखि अभ्यास गरिरहेको र टिममा पुराना खेलाडीहरुको पुनरागमन भएकाले उत्कृष्ट प्रर्दशन गर्नेमा नेपाली महिला फुटबल टिमकी साबित्रा भन्डारी (साम्बा) विश्वस्त छिन् ।
‘यस पटकको टिम पहिलेभन्दा फरक छ । केही परिवर्तन भएको पनि भएको छ,’ उनी ढुक्क सुनिन्छिन्, ‘अनुभवी खेलाडीहरु टिममा भएकाले राम्रो खेल्नेछौँ भन्नेमा विश्वस्त छु ।’
अहिले अवस्थामा समूह चरणकै खेलमा फोकस भइरहेको उनी सुनाउँछिन् । ‘कुनैपनि प्रतियोगितामा उपाधि जित्ने लक्ष्य त सबैको हुन्छ हाम्रो पनि लक्ष्य त त्यही नै हो,’ साम्बा तयारी सुनाउँदै छिन्, ‘हामीले सुरुवाती चरणमै फाइनल भन्दा पनि अहिले भुटानसँगको प्रतिस्पर्धालाई नियालिरहेका छौँ, त्यसपछि श्रीलंका अनि सेमिफाइनलका बारेमा सोच्ने हो ।’
पहिलेभन्दा अहिले नेपालको खेल सुधारिएको साम्बाको दाबी छ । ‘हामीले खेलको स्तर सुधारेका छौं,’ साम्बा विश्वस्त हुँदै भन्छिन्, ‘ फयानहरुलाई निरास बनाउने छैनौँ ।’
त्यस्तै नेपाली खेलकुदलाई निकै नजिकबाट नियालेका नेपालका खेल विश्लेषक सञ्जिब शिल्पकार पनि नेपालको टिममा यसपटक आएको परिवर्तन र क्षमताका कारण नेपालले राम्रो नतिजा ल्याउनेमा ढुक्क छन् ।
‘एन्फामा नयाँ नेतृत्व, टिममा केही फर्मेसनको चेन्ज नयाँ खेलाडी समावेश जस्ता कुराले नेपालले राम्रै नतिजा ल्याउँछ भन्ने आशा जगाएको छ,’ उनी भन्दै थिए, ‘त्यसैले यसपाली महिला टोली उत्कृष्ट नतिजा ल्याउँछ भन्ने लागको छ ।’
यद्यपि, नेपालले सधैं फाइनलमा पुगेर पराजित हुनुको कारण चाहिँ के होला ? शिल्पकार भन्छन्, ‘भारतको र नेपालको खेल खेल्ने लेभल हल्का फरक छ । भारतको स्तर नेपालको भन्दा अलि राम्रो छ । तैपनि पुराना अनुभवी खेलाडीहरुको पुनरागमन र नयाँ खेलाडीहरुले अवसर पाउने भएको हुँदा यसपटक नेपाली फुटबल टिमसँग राम्रो अपेक्षा गरेका छौँ ।’
शिल्पकारले भनेजस्तै के नेपाली महिला फुटबल टोलीले इतिहास बनाउँला त ? त्यो भने फाइनलसम्म कुर्नैपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया