च्याम्पियन्स लिग फुटबल : स्पेनी क्लब रियल म्याड्रिडको पहिलो हार, म्यान्चेस्टर सिटी र युभेन्ट्स विजयी

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनी क्लब रियल म्याड्रिड पराजित भएको छ । 

रसियामा मंगलवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिड रसियन क्लब सिएसकेए मस्कोसँग १-० गोल अन्तरले पराजित भएको हो । खेल शुरु भएको २ मिनेटमा नै मस्कोका लागि निकोला भ्लासिसले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको सिएसकेए मस्कोले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । निर्धारित समयसम्म रियल म्याड्रिडले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेलमा पहिलो हार बेहोरेको हो ।

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले दोस्रो खेलमा बेहोरेको यो पहिलो हार हो । 

मंगलवार राति नै भएको म्यान्चेस्टर युनाइटेड र स्पेनी क्लब भ्यालेन्सियाबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । 

आफ्नो घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले भ्यालेन्सियासँग गोल रहित बराबरी खेल्दै एक-एक अंक बाडेका छन् । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म दुवै क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेलमा समान १-१ अंक बाडेको हो ।

 यता मंगलवार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले होफेनहेमलाई २-१ गोल अन्तरले पराजित गर्न सफल भयो । सिटीका लागि खेलको सातौं मिनेटमा सिर्जयो अग्युरो र ८७ औँ मिनेटमा डेभिड सिल्भाले समान एक-एक गोल गरे ।

होफेनहेमका लागि बेलफोडिलले एक मात्र गोल फर्काए । 

मंगलवार राति नै भएका अन्य खेलहरुमा युभेन्टुले योङग ब्वाइजलाई ३-० गोल अन्तरले, बेन्फिकाले एइके एथेनसलाई ३-२ गोलले र रोमाले भिक्टोरिया प्लाजेनलाई ५-० गोल अन्तरले हरायो । 
लायन र साख्तर डोनेक्सबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?