आइसिसी विश्व टी–२० क्रिकेटको एशिया छनोट : नेपाल र म्यान्मारबीचको खेल जारी

काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटको एशिया छनोट अन्तर्गत अहिले नेपालले म्यान्मारको सामना गरिरहेको छ । 

यी दुई टिमबीचको खेल क्वालालाम्पुरस्थित बायुमास ओभलमा अहिले नेपालले बलिङ तथा म्यान्मारले ब्याटिङ गरिरहेको छ । अहिलेसम्मको स्थितीमा म्यान्मारले दुई विकेट गुमाइसकेको छ । नेपालका लागि ललितसिंह भण्डारी र करण केसीले समान एक-एक विकेट लिइसकेका छन् । 

सन् २००६ पछि नेपालले पहिलो पटक म्यान्मारसँग प्रतिस्पर्धा गरिरहेको छ ।  सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।

छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यही असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् ।

राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन् । 

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शिर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?