आइसिसी विश्व टी–२० क्रिकेट एशिया छनोट : नेपालको विजयी शुरुवात, म्यान्मार ८ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटको एशिया छनोटमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । 
 
क्वालालाम्पुरस्थित बायुमास ओभलमा बुधवार भएको पहिलो खेलमो नेपालले म्यान्मारलाई ८ विकेटले पराजित गरेको हो । ३० रनको झिनो लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले ३ ओभरमा मात्र २ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो । 

नेपालका ओपनर ब्याट्सम्यान प्रदिप सिंह ऐरी शुन्य रनमा नै आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल कुमार शाह ११ रन जोड्दै पेभेलियनमा फर्किए । त्यस्तै करण केसीले नटआउट १४ रनको योगदान दिए । विनोद भण्डारीले मात्र १ रन जोडे

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यान्मारले १० ओभरमा सबै विकेट गुमाउँदै २९ रनको योगफल तयार पारेको थियो । 

म्यान्मारका लागि लिन वाङगले सबैभन्दा बढी १६ रन जोडे । उनले २० बलमा मात्र २ चौका प्रहार गर्दै पेभेलियनमा फर्किए । ओपनर ब्याट्सम्यान केके लिन थु मात्र ४ रन बनाएर आउट भए ।

अर्का ओपनर ब्याट्सम्यान खिन ए शुन्य रनमा आउट भए । नाइङ तुन र थुया वाङले समान ३-३ रन जोडे । म्यान्मारको पारी ध्वस्त पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले ३ तथा करण केशी र ललितसिंह भण्डारीले समान १-१ विकेट लिएका थिए । 

नेपालले म्यान्मारलाई सन् २००६ पछि पराजित गरेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । 

छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यही असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन् । 

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शिर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

छनोट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा यहि असोज २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?