एजेन्सी । 'युइएफए' च्याम्पियन्स लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ र बार्सिलोना विजयी भएका छन् ।
बुधवार राति सम्पन्न भएको समूह ‘सी’ अन्तर्गतको खेलमा फ्रान्सेली क्लब ‘पिएसजी’ले सर्वियाली क्लब रेड स्टार बेलगे्रडलाई ६-१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पिएसजीका लागि ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक गरे ।
उनले खेलको २० औँ, २२ औँ र ८१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । जारी सिजन पिएसजीका लागि खेलेका १० खेलमा नेयमारले १० गोल गर्न सफल भए ।
उनले ह्याट्रिकसँगै च्याम्पियन्स लिगमा ३० गोल पूरा गरे । उनी च्याम्पियन्स लिगमा गोल गर्ने ब्राजिलियन खेलाडीको सुचिमा काकासँग बराबरीमा गरेका छन् । ब्राजिलियन खेलाडीमध्ये उनीभन्दा बढी लुइज आड्रीयानोले ३ तथा आड्रीयानोले २ पटक ह्याट्रिक पूरा गरेका छन् ।
त्यस्तै बाँकी तीन गोल भने ३७ औँ मिनेटमा एडिन्सन काभानीले, ४१ औँ मिनेटमा एन्जल डि मारिया र ७० औँ मिनेटमा केलियन एमबाप्पेले समान एक-एक गोल गरेका थिए ।
यता रेड स्टार बेलगे्रडका लागि खेलको ७४ औँ मिनेटमा मरिनले एक मात्र गोल फर्काए । यसअघि भएको समूहको पहिलो खेलमा भने पिएसजी इंग्लिस क्लब लिभरपुलसँग ३-२ गोलले पराजित भएको थियो । जीतपछि पिएसजीले ३ अंक जोडेको छ ।
बुधवार राति नै भएको अर्को खेलमा स्पेनी क्लब बार्सिलोनाले टोट्नह्यामलाई ४-२ गोल अन्तरले पराजित गर्यो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले दुई गोल गरे ।
उनले खेलको ५६ औँ र ९० औँ मिनेटमा दुई गोल गरे । बाँकी दुई गोल भने फिलीप कौटिन्हो र इभान राकिटिकले समान एक-एक गोल गरे ।
कौटिन्होले खेलको २ मिनेटमा नै गोल गरेका थिए भने राकिटिकले २८ औँ मिनेटमा गरे । टोट्नह्यामका लागि खेलको ५२ औँ मिनेटमा ह्यारी केन र ६६ औँ मिनेटमा लामेलाले एक-एक गोल गरे । जीतपछि बार्सिलोना ६ अंकका साथ समूह ‘बी’ को पहिलो स्थानमा छ ।
बुधवार राति नै भएका अन्य खेलहरुमा साल्केले लोकोमोटिभलाई १-० गोलले, एथ्लेटिको म्याड्रिडले क्लब ब्रुगलाई ३-१ गोलले, नपोलीले लिभरपुललाई १-० गोलले, बोरुसिया डटमुण्डले मोनाकोलाई ३-० गोलले तथा एफसी पोर्टोले गलतासारायलाई १-० गोल अन्तरले पराजित गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया