जुम्लामा स्याउ महोत्सव हुने

लोकपथ
392
Shares

जुम्ला । जुम्लामा “तेस्रो जुम्ला स्याउ महोत्सव” हुने भएको छ । आगामी भदौ २८ गते जुम्ला सदरमुकामको मुख्य बजार स्थित बाल मन्दिरमा तेस्रो स्याउ महोत्सव लाग्ने भएको हो ।

महोत्सवमा आठ पालिका, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने भएका छन् । शुक्रबार पत्रकार सम्मेलन मार्फत जुम्ली स्याउको बजारीकरण,किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए।

उनका अनुसार स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने भएका छन् । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के र स्थानीय कलाकारको समेत प्रस्तुती रहने छ । जुम्ली लोकल जातका स्याउको बजार प्रवर्द्धन,स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि समेत महोत्सव गरिँदै छ ।

प्रकाश कार्कीले भने, ʽविगत दुई वर्ष पहिले लगातार स्याउ महोत्सव गर्दै आएका थियौ । तर पछिल्ला दुई वर्षमा कोरोना महामारीले महोत्सव हुन सकेन । तर यस वर्ष राष्ट्रिय कलाकार प्रकाश सपूत सहित स्थानीय झाँक्री सहित महोत्सव लगाउने तयारी गरेका छौ ।

महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारहरू समेत ल्याएर आउन अनुरोध गरिएको छ ।

एक दिन अन्तरक्रिया र एक दिन महोत्सव गरि दुई दिन लाग्ने स्याउ महोत्सवका लागि अनुमानित ५ लाख खर्च लाग्ने आँकलन गरिएको समेत कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा कृषि विज्ञहरूले किसानको स्याउको स्वाद,गुणस्तर, र साइज परिक्षण गर्ने छन् । उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने छ । स्याउबाट बन्ने ब्राण्डि,जाम जेलि वाईनको बजारीकरण हुने छ ।

कर्णाली भन्ने बित्तिकै रारा, से(फोक्सुण्डो,मानसरोवर मात्र नभई जुम्लालाई स्याउ पर्यटनका रुपमा विकास गरि आर्थिक समृद्धि हासिल गर्ने स्याउ महोत्सवको लक्ष्य छ । उत्पादन बढ्दै गएको जुम्ली स्याउको बजारीकरणमा टेवा पुराउने लक्ष्य छ । साथै कलाकार प्रकाश सपुतको खान बस्नका लागि होटल दौँतरीले निःशुल्क व्यवस्थापन गर्ने भएको छ ।

यस वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ । भने स्याउ निर्यातबाट झण्डै ५० करोड जुम्लामा भित्रिने आँकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?