पछिल्लो समय नेपालमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभरका ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ७ सय ७ जना डेंगु संक्रमित छन् एकजनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन् । उसो त यहाँका अस्पतालहरु यतिबेला डेंगु संक्रमितले भरिभराउ छन् ।
डेंगुकै विषयवस्तुमा केन्द्रीत रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग लोकपथकर्मी महेश तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
देशका ७५ वटा जिल्लामा डेंगुको संक्रमण फैलिसकेको छ, यो कस्तो रोग हो ? सामान्य मानिसले बुझ्ने गरी बताइ दिनुहोस् न ।
डेंगु एक प्रकारको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल इन्फेक्सनहो । यो चार प्रकारका हुन्छन् । जसलाई डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरेर छुट्याइएको छ । नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । त्यसयता सन् २०१९ मा यसले ठूलो प्रकोपको रुप लिएको थियो । त्यतिबेला १८ हजार मानिस संक्रमित भए भने ६ जनाको मृत्युसमेत भएको थियो ।
विगतमा पनि एक-दुई वर्षको बीचमा डेंगु आउट ब्रेक भइरहेको पाइन्छ । यसपाली लगभग आउटब्रेक जस्तै भएको छ । केहीवर्ष अघिसम्म प्रायजसो असोज कात्तिकको समयमा डेंगुको प्रकोपको रुपमा देखापर्थ्यो । तर, २०१९ र २०२२ मा भने असामान्य ढंगबाट संक्रमित बढेका छन् । सम्भवतःअझै केहीहप्ता लम्बिने जस्तो देखिन्छ ।
नेपालमा डेंगुले महामारीको रुप लिइसक्यो भन्न मिल्छ कि मिल्दैन ?
महामारीको रुप लिइसक्यो कि छैन भन्नका लागि यसका पनि केही प्राविधिक सीमाहरु होलान् । तर, डेंगुचाहिँ घर–घरमा छ । यद्यपि, अहिले आइरहेका तथ्यांकमा थुप्रै संक्रमित जोडिएका छैनन् । किनभने डेंगु लागेका सबै अस्पताल पुगेका छैनन् । जसले गर्दा उनीहरु तथ्यांकमा समेटिएनन् । त्यसैले अहिले देखिएको संक्रमितको संख्याभन्दा ४/५ गुणा बढी मानिसलाई डेंगुभएको छ । सन् २०१९ मा काठमाडौंमा मात्र केन्द्रीत भएको डेंगु यो वर्ष ललितपुर र भक्तपुरबाट पनि डेंगु संक्रमितहरु अस्पताल आउनुभएको छ । त्यसैले डेंगु घर–घरमा छ ।अझै भन्नुपर्दा नेपाल डेंगुको बादलमुनी छ । अब महामारी भन्ने कि नभन्ने कुरा चाहिँ मैले भन्न मिल्दैन ।
तपाईं त एउटा अनुसन्धानकर्ता पनि हुनुहुन्छ, डेंगुलाई कसरी अनुसन्धान गरिरहनु भएको छ ?
मैले नजिकबाट नियालिरहेको छु । झण्डै २ महिनाअघि काठमाडौंमा फाट्टफुट्ट डेंगु संक्रमित देखिँदै थिए । अनि पानीका खाल्डाखुल्डीमा पनि लामखुट्टेका लार्भाहरु प्रशस्तै देखिन्थे । त्यतिबेलै मैले काठमाडौं डेंगुको ‘हाइ रिस्कमा’ छ भनेको थिएँ । अहिले भयो पनि त्यस्तै । त्यसैले यो अवस्थामा मैले डेंगुका बिरामीहरुमा सुक्ष्म अध्ययन गरिरहेको छु । उनीहरु कस्तो लक्षण लिएर आउँछन्, बिरामीका वरपरका कसैलाई डेंगु भएको थियो कि, उनीहरुमा सामान्यभन्दा फरक लक्षण देखिएको छ कि ? जस्ता कुराहरुको अध्ययन गरिरहेको छु ।
डेंगुका बिरामीहरुलाई प्रत्यक्ष नियालि रहनुभएको छ, बिरामीहरु चाहिँ कस्तो अवस्थामा अस्पताल आइरहेका छन् ?
कोही लक्षण लिएर आउने छन् भने केहीभर्ना नै हुनुपर्ने अवस्था आएका छन् । लक्षण लिएर आउने बिरामी त दिनमाझण्डै २ सयको हाराहारीमा आउँछन् । मैलेमात्रै दैनिक १ सयभन्दा बढी बिरामी हेर्छु । आएकामध्ये केही बिरामीलाई हामीले एकदुई घण्टा निगरानीमा राखेर घर पठाइदिएका पनि छौं । कसैलाई केहीदिनभर्ना हुनुपर्ने अवस्था पनि आएको छ । त्यसैले संक्रमितको स्वास्थ्यमा आएको समस्याका आधारमा हामीले विभिन्न मापदण्डमा रहेर उपचार गरिरहेका छौं । तर, पछिल्ला दिनमा केहीनिको हुने क्रमपनि बढेको छ । तर, अझै केहीहप्ता डेंगुसँगको लडाइँ जारी रहन्छ ।
डेंगुको सामान्य र जटिल अवस्था कसरी छुट्याउन सकिन्छ ?
संक्रमण पुष्टि हुने बित्तिकै अर्थात सामान्य ज्वरो, जिउ दुखाई हुँदैमा अस्पताल गइहाल्नु पर्दैन । तर, जसलाई निरन्तर बान्ता भइरहने, नागबाट रगतआउने, पिसाब रातो हुने, दिसाकालो देखिने, गिँजाबाट रगतआउने, असह्य हुनेगरी पेट दुख्ने अवस्था छ जटिल अवस्था हुनसक्छ । यस्तो नजिकको अस्पताल जानुपर्छ । त्यस्तै, रक्त परीक्षण गर्दा प्लेटलेट्सको संख्यातीव्र गतिमा घटिरहेको हुन्छ भने हेमाटोक्रिट बढीरहेको हुन्छ । यस्ता खालका लक्षण र नतिजा देखियो भने जसलाई मेडिकल भाषामा ‘वार्निङ साइन’ भनिन्छ । वार्निङ साइनभनेको जुनसुकै समयमा जे पनिहुन सक्छ भनिएको हो ।
मानिसले आफूमा डेंगु संक्रमण भयो भनेर भनेर कसरी थाहा पाउने ?
डेंगु र शारीरिक दुखाई एक अर्काको पर्यायवाची शब्द जस्तो भइसकेको छ । कोही मानिसलाई शरीर दुखाई छ भने सम्भवतःत्यो डेंगु हुनसक्छ । जस्तै, आँखा खस्ला जस्तो गरि दुख्ने, टाउको फुट्ला जसरी दुख्ने, जोर्नी चलाउनै नसक्ने गरी दुख्ने, मांशापेसी अत्याधिक दुख्ने, ढाडको तल्लो भागपनि सहनै नसक्ने गरी दुख्ने, खान मन नलाग्ने, वाकवाकलागिरहने, पखाला लागिरहेन, शरीर चिलाउने समस्या छ भने डेंगुको परीक्षण गराउनुपर्छ ।
डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नका लागि लामखुट्टेको मात्र भूमिका हुन्छ कि अरु पनि केही ?
मूख्यतयः डेंगु लामखुट्टेको टोकाइबाट नै सर्ने रोग हो । कहिलेकहीँ गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ भने रक्तदान गर्दा पनि दाताको शरीरमा डेंगुको संक्रमण भएको अवस्थामा रगतलिने व्यक्तिमा सर्न सक्छ । तर, यो बिरलै हुन्छ । विशेषगरी डेंगुको संक्रमण लामखुट्टेको टोकाइबाट मात्रै लाग्छ ।
कतिपय मानिसहरु झुल हालेर पनि सुतेको छु, लामखुट्टेले टोकेको पनियाद छैन तर, परीक्षण गर्दा डेंगु देखियो भन्नेहरु पनि छन् नि ?
डेंगुलाई हेर्ने तरिकामा केही फरकपन ल्याउनुपर्छ भन्ने लाग्छ । कुनै बेला हामी बेलुका सुत्नेबेला झुल हाल्थ्यौं, धुप बाल्थ्यौं सुरक्षित महसुस गर्थ्यौं । तर, अहिलेको अवस्था एकदमै फरक छ । पहिलो कुरा त डेंगु संक्रमित लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय हुन्छ ।दिउँसो विभिन्न हल्लाले गर्दा लामखुट्टेको आवाज पनि सुनिदैन । त्यसैले मानिस कामको धुनमा व्यस्त भइरहेको बेलामा संक्रमित लामखुट्टेले टोकेको हुनसक्छ । जसले गर्दा धेरै मानिसहरुमा त्यस्तो खाले दुविधा सिर्जना गराएको छ । उसो त लामखुट्टेले आफ्नो स्वभावमा परिवर्तन गरेपछि मानिसले पनि आफ्नो आनीबानीमा फरकपन ल्याउन सोच्नुपर्छ । त्यसबारे नसोच्ने हो भने डेंगुका प्रकारहरु पनि परिवर्तन हुँदै जान्छन् । जो झनै कडा हुनसक्छ । सम्भवतः त्यसले मृत्युदर पनि बढ्न सक्छ ।
डेंगु संक्रमित लामखुट्टेको पहिचान गर्न सकिन्छ कि सकिँदैन ?
सकिन्छ । डेंगु संक्रमण गराउने लामखुट्टे सेतो र कालो रङका हुन्छन् । मैले चाहिँत्यस्ता लामखुट्टेलाई ‘जेब्रा लामखुट्टे’भन्ने गरेको छु । यद्यपि, ती लामखुट्टेको खास नामभने एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस हो । बेला–बेलामा एसियन टाइगरको नाम पनि दिने गरिएको छ । यदि सेतो र कालो रङ गरेको छिर्केमिर्के लामखुट्टे देखेको अवस्थामा भने डेंगु संक्रमित लामखुट्टे भन्ने बुझ्नुपर्छ ।
डेंगुले विशेष गरी कुन–कुन मानव अंगलाई असर गर्छ ?
डेंगुले असर नगर्ने कुनै अंग नै हुँदैन । यसले कलेजो, मस्तिष्क, फोक्सो, आन्द्रालगायतका शरीरका जुनसुकै अंगमापनि असर गर्न सक्छ । जस्तो कि डेंगु लागेका बिरामीको कलेजोको आकारपनि सामान्य बढ्न सक्छ । जसले बोनम्यारोलाई केही समय निष्क्रिय गराउँछ । त्यसले गर्दा गर्दा सेतो प्लेटलेट्सको मात्रा बिस्तारै घटेर जान्छ, जुन स्वाभाविक प्रक्रिया हो । तर, शरीर जति कमजोर हुन्छ, त्यति नै अन्य ब्याक्टेरियाले आंक्रमण गर्ने सम्भावना रहन्छ । र, यसको मूख्य असर भनेको चाहिँ असह्य दुखाई हो ।
साथै, रक्तकोषिकाहरु प्नियसको प्रत्यक्ष असर रहन्छ । प्लेटलेट्सको मात्रा समान्यतया एक लाखभन्दा कम भएको राम्रो मानिँदैन । प्लेटलेट्सको मात्रा अत्यधिक घटेर २० हजारभन्दा मुनि गएको अवस्थामा यसको कारण खोज्नुपर्ने हुन्छ ।
त्यस्तै, डेंगुसंक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिँजाबाट रगतबग्ने, कालो खालको दिसाआउने, थकान महसुस हुने, निरन्तर बान्ता हुने, बान्तामा पनि रगत आउने, बिरामी बेहोस हुनेलगायत लक्षण देखिएमा डेंगु जटिल भयो भनेर बुझनुपर्छ । यस्तो अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्न जरूरी हुन्छ । अस्पताल आइपुगेका जटिल लक्षण भएकाकेही बिरामीको फोक्सो वा पेटमा पानी जमेको पनिपाइएको छ ।
डेंगु संक्रमितले कस्ता औषधि सेवन गर्ने ?
डेंगु भनेको अत्याधिक दुखाई हुने रोग हो । तर, हाम्रो नेपाली समाजमा रोगको पहिचान नगरी मेडिकलबाट दुखाई कम गर्ने निम्स, फ्लेक्सन, ब्रुफिनलगायतका औषधिखाने चलन छ । त्यस्ता औषधिले रक्तस्राव गराउ सम्भावना बढी हुन्छ । जो निकै हानिकारक र खतरा हुनसक्छ । त्यसैले डेंगु संक्रमितले सिटामोलभन्दा अरु औषधि खान मिल्दैन ।
यो बाहेक डेंगुको कुनै औषधि छैन । लक्षणमा आधारित भएर उपचार गर्नेहो । तर, दुखाई कम गर्न खाइने औषधिले आन्द्रा सुनिने, रक्तस्राव हुने, शरीरका भित्रीअंगहरुमा घाउ हुने सम्भावना बढी हुन्छ । साथै, डेंगुमा केही मेडिकल व्यवसायी र चिकित्सकले पनि एन्टिबायोटिक औषधि दिएको पाइन्छ । त्यो आवश्यक पर्दैन ।
डेंगु संक्रमणमुक्त भइसकेपछि मानिसमा लामो समयसम्म कुनै लक्षण देखिन्छ कि देखिँदैन ?
यो प्रश्न धेरैको मनमा रहेको पाइन्छ । खासगरी कोभिडको समयमा पोष्ट कोभिड सिम्टम्सका कारण यो जिज्ञाशा उब्जिएको हुनसक्छ । तर, कोभिडमा जस्तो पोष्ट डेंगु सिम्टम्स देखिएको पाइएको छैन । डेंगु संक्रमण भएको व्यक्तिले समयमै उपचार गराएको अवस्थामा कुनै पनि समस्या आउँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया