काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । मंगलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोशिष भएको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचत्र क्षेत्रलाई उचाईमा पुर्याउने बताए ।
अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे । उनले अन्य मुलुकका चलचित्रहरुले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताए । अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।
कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो । फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरुको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नेछन्, भने सोसल ड्रामा र लभ स्टोरीमा अधारित फिल्मको ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायांकन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया