बाल दिवस : वर्षेनी ४ हजारभन्दा बढी बालबालिका हुन्छन् बेपत्ता

हराउनेमा बालिका धेरै

आज राष्ट्रिय बाल दिवस । ‘जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणका घटना सार्वजनिक भइरहेका छन् । साथै, बालबालिकाको बेचविखन तथा बञ्चित बालबालिकाको संख्या अझै धेरै रहेको छ । सडक बालबालिकाको अवस्था पनि उस्तै छ ।

यस्तो छ बालदिवसको इतिहास

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेसँगै बाल दिवस मनाउन थालिएको हो । उक्त महासन्धीमा नेपालले बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता लगायतका विषयमा अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको छ ।

नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले शुरु गरेको इतिहासमा छ । भारत भ्रमणका क्रममा उनले माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताबाट प्रभावित भएर आफ्नो जन्म दिनपारी नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्मदिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेकी थिइन् । सोही दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी नियमित रुपमा बालदिवस मनाउन थालिएको हो ।

भनिन्छ, बालबालिका देशका कर्णधार हुन् । आजका कोपिला भोलिका फूल बन्ने तिनै बालबालिकाले के साँच्चै अधिकार पाइरहेका छन् त ? हाम्रा बालबालिका कत्तिको सुरक्षित छन् ? के हाम्रा बालबालिका आधारभूत हक अधिकारको पहुँचमा छन् ? यो प्रश्नको जवाफ सरकारसँग खोज्ने बेला आएको छ । तर, सरकारी तथ्यांकले एकपटक झस्काउँछ ।

वर्षेनी हराउँदैछन् बालबालिका

नेपाल प्रहरीको तथ्यांकलाई हेर्ने हो भने वर्षेनी ४ हजारभन्दा बढी बालबालिका हराउँछन् । हराएका धेरैजसो फेला नै पर्दैनन् । हराउनेमा बालक भन्दा बालिकारहेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६ सय ४६ बालबालिका बेपत्ता भएका छन् । जसमध्ये १ हजार २ सय १५ जना बालक रहेका छन् भने ३ हजार ४ सय ३१ जना बालिका रहेका छन् ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ७८/०७९मा बेपत्ता भएका मध्ये १ हजार १ सय ५७ बालक र ३ हजार २ सय ४० बालिका गरी ४ हजार ३ सय ९७ जना बालबालिकाको पत्ता लागेको छ भने २ सय ४९ जना अझै पनि बेपत्ता छन् ।
बाल दिवसको दिन बाल अधिकारको विषयमा चर्का चर्का भाषण गरिए पनि कयौँ बालबालिका आफ्नो हक अधिकारबाट बन्चित छन् भन्ने कुरा यही तथ्यांकले नै पुष्टि गर्छ ।

चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा मात्रै ५ सय ३९ जना बालबालिका बेपत्ता भएका छन् । जसमध्ये १ सय ७६ जना बालक रहेका छन् भने ३ सय ६३ जना बालिका छन् । हराएकामध्ये ३ सय ८ जना फेला परेका छन् । ५५ जना बालिका अझै फेला पर्न सकेका नसकेको प्रहरीले जनाएको छ ।

हराउनेमा बालक भन्दा बालिका धेरै

हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै भएको तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८०को साउन महिनामा मात्रै ३ सय ६३ जना बालिका हराएका छन् । जसमध्ये २ सय ६ जना बालिका फेला परे । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९मा देशभरबाट कूल ४ हजार ६ सय ४६ जना बालबालिका बेपत्ता भएका थिए । जसमा ३ हजार ४ सय ३१ जना बालिका मात्रै थिए ।

हराएका बालबालिकामध्ये ३ हजार २ सय ४० जना छोरी फेला परेका छन् । आव ७८/०७९ मा फेला पर्ने बालबालिकाको प्रतिशत ९४.६४ रहेको छ भने खोज तलास जारी रहेका बालबालिकाको प्रतिशत ५.३६ रहेको छ ।

कहाँ जान्छन् हराएका बालबालिका ?

बेपत्ता बालबालिका कहाँ जान्छन् र के गर्छन् भन्नेबारे सम्बन्धित सरकारी र गैर–सरकारी निकाय नै बेखबर छन् । हराउने बालबालिकाको अवस्थाबारे कसैलाई जानकारी नै छैन । अभिभावकहरुले बालबालिका हराउँदा उजुरी दिन आउने तर भेटिएपछि जानकारी नदिने गर्नाले पनि भेटिए नभेटिएकोबारे सम्बधित निकाय बेखबर हुने गरेको प्रहरी बताउँछ ।

किन वर्षेनी बढ्दैछ हराउने बालबालिकाको संख्या ?

कतिपय बालबालिका घरायसी र स्कुलमा हुने दुव्र्यवहार र हिंसाका कारण पनि घर छाड्ने गरेको पाइएको छ । त्यसैगरी अशिक्षा, जनचेतनाको अभाव, मानव तस्करी, यौनजन्य दुर्व्यवहार, बेचबिखन, आर्थिक प्रलोभन, गरिबी, बेरोजगारी, असुरक्षाका कारण प्रत्येक वर्ष बालबालिका हाराउने क्रम बढ्दो छ ।

अझ अहिलेको परिवेशमा त वैदेशिक रोजगार प्रमुख कारण बनेको छ । आफ्ना अभिभावक वैदेशिक रहँदा बालबालिकाहरु उचित हेरचाहबाट बन्चित हुन्छन् जसले गर्दा उनीहरु असुरक्षित भइरहेका छन् । त्यसैगरी सामाजिक सञ्जाल र साथीभाईको लहै–लहैमा घरै छाडेर हिड्ने प्रवृत्तिले गर्दा पनि पछिल्लो बालबालिकाहरु हराउने क्रम बढ्दै गैरहेको छ । अहिले उजुरी गर्नेको संख्या बढ्नाले पनि हराउने बालबालिकाको तथ्यांक वृद्दि भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

बालबालिकाहरु हराउनुमा गरिबी नै मुख्य कारक भएको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक रुद्र गिरी बताउँछन् ।

‘गरिबी, अभाव, बहुबिवाह, बालविवाहरुका कारण समाजमा बालबालिका हराउने गरेका छन्,’ उनले भने, ‘आयस्रोत निम्न भएकाले परिवारले बालबालिकालाई वेवास्ता गर्नाले पनि उनीहरु आफूखुशी जीवन जिउने बाटोमा लागेको धेरै भेटिन्छ ।’ तर, बालबालिका भेटिएपछि प्रहरी खबर नगर्दा पनि एकिन तथ्यांक निकाल्न समस्या हुने गरेको उनले जानकारी दिए । ‘हाम्रो बेपत्ता सूचीमा भएका धेरै बालबालिका भेटिइसकेका हुन्छन्,’ उनले भने, ‘तर परिवारले जानकारी नगर्दा हामीलाई एकिन तथ्यांक राख्न र खोजतलासका लागि समस्या हुने गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?