स्थगित भएको ‘ए’ डिभिजन लिग बुधवारदेखि पुनः सुचारु

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता पुनः सुचारु हुने भएको छ । 

नेपाली राष्ट्रिय फुटबल टोलीले बंगबन्धु गोल्डकप फुटबलमा सहभागिता जनाएपछि स्थगित भएको ‘ए’ डिभिजन लिग फुटबल यहि बुधवारदेखि पुनः सुचारु हुन लागेको हो । 

बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकपमा नेपालको यात्रा समूह चरणमा नै सिमित भएपछि लिग फुटबल सञ्चालन गर्न लागेको अखिल नेपाल फुटबल संघ ‘एन्फा’का प्रवक्ता किरण राईले जानकारी दिए । 

‘एन्फा’ले लिगको पहिलो चरणको बाँकी खेल दशैं अगाडि नै सम्पन्न गर्ने जनाएको छ । 

पहिलो चरणको ५ खेल अझै बाँकी छन् । ‘ए’ डिभिजन लिग फुटबलको शुरुवाती दुई खेल असोज १३ र १४ गते सकिएको थियो । त्यसलगतै नेपाल बंगबन्धु गोल्डकपमा सहभागी हुने भन्दै लिग स्थगित गरिएको थियो । 

लिगको शुरुवाती खेलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले न्युरोड टिम ‘एनआरटी’सँग २-२ गोलको बराबरीमा सकिएको थियो । त्यस्तै दोस्रो खेलमा संकटा क्लबले सरस्वती क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो चरणको खेल सकिए लगतै लिग दशैं र तिहार गरेर एक महिना रोकिनेछ । बाँकी भएको ५ खेल अन्तर्गत ब्रिगेड ब्वाइज क्लबलेमनाङ मर्स्याङदीको, मछिन्द्र क्लबले च्यासल युथ क्लबको, फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबको तथा जावलाखेल युथ क्लबले नेपाल पुलिस सामना गर्नेछन् ।

यता हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल खेल्न बाँकी नै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?