टी-२० एशिया छनोट : नेपालद्वारा थाइल्याण्डलाई १ सय ७३ रनको चुनौती

काठमाडौं ।मलेसियामा जारी विश्व टी-२० एशिया छनोट खेलमा नेपालले थाइल्याण्डसामु १ सय ७३ रनको चुनौती प्रस्तुत गरेको छ । 

क्वालालाम्पुरस्थित बायुमास क्रिकेट मैदानमा आइतवार भएको समूह ‘बी’को तेस्रो खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल तयार पारेको हो । नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गरेका थिए । 

त्यस्तै, शरद भेषवाकरले ३४ रन, दिपेश सिंह ऐरीले ३० रन तथा अनिल कुमार शाहले २५ रन जोडे । ओपनर ब्याट्सम्यान ऐरीले १७ बलमा ५ चौका प्रहार गर्दै पेभेलियनमा फर्किएका थिए । 

विनोद भण्डारीले १५ रन बनाए भने आरिफ शेखले ८ रन जोडे । यता कप्तान पारस खड्का मात्र ५ रन बनाएर आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ले ७ तथा सोमपाल कामीले ४ रन बनाए । 
नेपालीका पारी ध्वस्त पार्ने क्रममा थाइल्याण्डका सुङनार्डले सबैभन्दा बढी चार विकेट झारे । 

यस अघि नेपालले  पहिलो खेलमा म्यानमारलाई ८ विकेटले तथा  दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?