विश्व टी-२० एशिया छनोट : नेपालको अपराजित यात्रा कायमै, थाइल्याण्ड १ सय ४० रनले पराजित

काठमाडौं । नेपालले मलेसियामा जारी विश्व टी-२० एशिया छनोटमा अपराजित यात्रा कायमै राखेको छ । 

क्वालालाम्पुरस्थित बायुमास क्रिकेट मैदानमा आइतवार भएको समूह ‘बी’को तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । 

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल तयार पारेको हो । नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गरेका थिए । 

त्यस्तै, शरद भेषवाकरले ३४ रन, दिपेश सिंह ऐरीले ३० रन तथा अनिल कुमार शाहले २५ रन जोडे । ओपनर ब्याट्सम्यान ऐरीले १७ बलमा ५ चौका प्रहार गर्दै पेभेलियनमा फर्किएका थिए । 

विनोद भण्डारीले १५ रन बनाए भने आरिफ शेखले ८ रन जोडे । यता कप्तान पारस खड्का मात्र ५ रन बनाएर आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ले ७ तथा सोमपाल कामीले ४ रन बनाए । 

नेपालीका पारी ध्वस्त पार्ने क्रममा थाइल्याण्डका सुङनार्डले सबैभन्दा बढी चार विकेट झारे । जवाफी मैदानमा ब्याटिङ गरेको थाइल्याण्ड  ८ दशमलब ५ ओभरमा ९ विकेट गुमाएको अवस्थामा पानी परेर खेल रोकिए पछि नेपाल डिएल थर्ड मेथर्डको आधारमा विजयी भएको हो ।

थाइल्याण्डका लागि जुआऊल होक र वंचना उइसुक समान ७-७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । 

नेपालका लागि सन्दीप लामिछानेले ५ तथा करण केसीले ३ विकेट हात पारे । टी–२० क्रिकेटमा नेपालले हात पारेको यो नै सबैभन्दा फराकिलो अन्तरको जित  हो ।

यस अघि नेपालले  पहिलो खेलमा म्यानमारलाई ८ विकेटले तथा  दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?