कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा शनिवार राजधानीमा जुलुस निस्क्यो । तर यो पहिलोपटक होइन । पन्तको बलात्कारपछि निर्मम ढंगले हत्या भएको ७४ दिन बितिसकेको छ । तर बलात्कारीलाई प्रहरीले पक्रन नसकेको तथा सत्तासिन व्यक्तिका आसेपासे घटनामा संलग्न भएको आरोप लगाउँदै न्यायको लागि आनाकानी नगर्न आवाज उठिरहेको छ । हजारौं युवायुवतीहरु स्वस्फूर्त रुपमा निर्मलाको लागि न्याय माग्दै सडकमा उत्रिएका थिए ।
निर्मलाको बलात्कार पछि हत्या भएको ७४ दिन भएकोे छ । तर सरकार प्रहरी र सम्बन्धित् निकायबाट ठोस जवाफ नआएकाले सर्वसाधणहरुले निर्मलाको हत्यारा को हो भन्ने प्रश्न सोध्ने क्रम जारी राखेका छन् । कहिले प्रधानमन्त्रीले ‘डाउटफूल’ अभिव्यक्ति दिनु त कहिले गृहमन्त्रीले अपराधी पक्रीसकेको भन्नु । त्यसमाथी प्रहरीले कुटपिट गरेर मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई अपराधी भनी सावर्जनिक गर्नुले पनि सिंगो मुलुक र यहाँको प्रशासकिय व्यवस्थाप्रति शंका उपशंका उब्जिएको हो । के प्रहरी प्रशासन ‘नो वान किल्ड निर्मला’ उत्तरको निर्माण गर्ने प्रयास गरिरहेको हो ?
……………….
मुलुकका सञ्चार माध्यमहरुमा बलात्कार सम्बन्धि समाचार प्रसारण तथा प्रकाशन गरिरहने र आम नागरिकहरु बलात्कार अन्त्य गर भन्दै जुलुस निकालीरहने । यी यावत् घटना भइरहँदा पुरुषमा महिला सुरक्षा र आवश्यकताको जागरण गराउन सकिएला त ?
नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढीरहेका छन् । प्रविधिको विकास सँगसँगै नेपाली समाजमा महिला हिंसा र बलात्कारका घटनाहरुमा पनि वृद्धि हुँदै गएको स्पष्ट देखिएको छ ।
केही समय पहिला छिटफुट रुपमा सुनिने बलात्कारका घटना आएर आम सञ्चारमाध्यमा ‘ब्रेकिङ न्यूज’ भएका छन् ।
एकपछि अर्को बलात्कारका घटना भइरहेका कारण महिला, बालबालिकादेखि वृद्धासम्म नकारात्मक असर परेको त छ नै अर्को तर्फ महिलाको सुरक्षा चुनौती पनि थपिदै गएको छ ।
त्यसो त पहिले पहिले बलात्कारका घटना नभएका होइनन् । आम नागरिकमा शिक्षाको कमीले यस्ता घटनालाई लुकाइने गरिएको थियो । अझ भन्ने हो भने समाजमा इज्जत जाने डरले यस्ता घटनाहरू समाजमै लुकाईन्थ्यो ।
तर अहिलेको समाज परिर्वतन हुँदै गएको छ । बलात्कारका बारेमा युवायुवतीहरू फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल मार्फत कडा आलोचना र आफ्ना धारणाहरू राख्ने गरेका छन् । पछिल्लो सडक आन्दोलन त्यसैको परिणाम हो ।
निर्मलाको बलात्कार पछि हत्याको घटना र न्याय नपाएको परिप्रेक्ष्यले देशमा एउटा ठूलो त्रास पैदा भएको छ । बलात्कार तथा यौनजन्य हिंसाका घटना सम्बन्धी विषयहरुले यतिबेला सडकदेखी नेपालको सदन सम्मै स्थान पाइरहेका छन् । आम नागरिकको तातो आक्रोस दिनहुँजसो बढ्दो क्रममा छ ।
नेपालमा फितलो कानून भएकाले बलात्कारका घटनामा वृद्धि भएको धेरैको धारणा छ । बलात्कार किन हुन्छ ? भन्ने विषयमा सामाजिक सञ्जालहरुमा दुई तर्फी धारणाहरु व्यक्त भइरहेका छन् ।
पुरुषहरुको तर्क छ, ‘महिलाहरुले छोटा कपडा लगाउनु र सवेदनशिल अंग प्रदर्शन गर्नाले बलात्कारका घटनामा वृद्धि भएको हो । तर, महिलाहरु भन्छन्, ‘पुरुषहरुमा संस्कारको कमि भएको हो ।’
महिला र पुरुषबीचको विभेद, महिला हिंसाको प्रमुख कारण हो ।
महिलामाथि हुने बलात्कारको अर्को मुख्य कारण महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोच पनि हो ।
छोटो लुगा लगाउने महिलाहरुलाई उत्तेजक पहिरन लगाउनेको संज्ञा दिइन्छ । र त्यसैले बलात्कार बढाएको हो भन्ने तर्क गर्नेहरू हाम्रो समाजमा प्रशस्त छन् ।
पछिल्लो समयमा भएका बलात्कारमा तथ्यांक हेर्ने हो भने अधिकांश ५ महिनाको दुधे बच्चा देखि १५ वर्षको किशोरी रहेका छन् । ८० वर्षको बृद्धा सम्म बलात्कृत भएको समाचारहरु सार्वजनिक भएका छन् ।
त्यसोे हो भने उनीहरुलाई टाउको देखि कुर्कुचा ढाक्नेगरी साडी लगाइदिने हो भो बलात्कृत हुदैनन् त ?
पश्चिमा मुलुकमा विकिनीमा हिड्ने महिलाहरु सुरक्षित र बुर्खा लगाउनेहरु किन बलात्कारको सिकार हुन्छन् त ?
अतः बलात्कारको कारण पोसाक होइन, प्रवृत्ति हो ।
बलात्कार किन हुन्छन् र यसका कारणहरु केके हुन् ठ्याक्कै यहि हो भन्न त सकिदैँन । तर, कसै प्रतिको रिस, कसैले केहि गर्न सक्तैन भन्न सोँच शक्तिको बोध र फितलो कानुन बलात्कार र महिला हिंसाको वृद्धिका प्रम्ख कारकका रुपमा देखिएका छन् ।
दक्षिण एसिया कै बलियो कानून भएको दाबी गर्दे आएको सरकार, किन बलात्कारका घटनाहरु रोक्न सक्दैन त ? यहि प्रश्न तेर्साउदै आन्दोलन गर्नेमाथी अझ गोली चलाईन्छ । यसले शंकालाई बढावा दिएको छ ।
के बलात्कार रोक्न सम्भव होला ?
“दोषीलाई कारबाही गर” “बलात्कारीलाई फाँसी देउ ” “सरकार देखाऊ इच्छा, खोइ महिला सुरुक्षा ?” “गृहमन्त्री राजीनामा दे ” “आइजिपिलाई बर्खास्त गर् ” “सरकारको लाचारी सडकबाट हाम्रो खवरदारी ” “राष्ट्र प्रमुख महिला अनि के अरु चाँहि मैला” “किन यति लाचार दुई तिहाई सरकार”, भन्दै नारा जुलुस गर्नेजस्ता प्रतिक्रियात्मक गतिविधिले मात्र बलात्कार र महिला हिंसाका घटनाहरुमा कमि आउदैन ।
महिला हिंसा र यौन अपराधहरूले हाम्रो समाजमा धेरै नराम्रो असर पारेको छ । जहाँ शक्ति र बलको प्रयोग हुन्छ, यस्ता घटनाहरू भइरहन्छन् । फितलो कानून र प्रहरीको लापर्बाहीले यस्ता कृयाकलाप गर्र्नेको हौसला बढ्छ । घटनाहरू बढ्दै जान्छन् ।
महिला हिंसा र बलात्कारका घटनाहरुलाई रोकथाम नै गर्न त नसकिएला तर नियन्त्रण गर्नको लागि केहि हद सम्मको सजकता अपनाउन भने सकिन्छ ।
……..
“केटी त्यस्तै भएर नै केटाहरूले जिस्काउँछन्, असल केटीलाई कसैले केहि गर्दैन” यो सोच परिर्वतन गर्नु जरुरी छ । पुरुषले गरेका हरेक कामको सम्मान गर्ने समाज, किन महिलाले गरेका हरेक कामको बिपक्षमा उभिन्छ ?
बलात्कार रोक्नको लागि सबै भन्दा पहिला महिला माथि हाबी भएको पुरुषवादी सोचलाई हटाउनु अवाश्यक छ ।
चलचित्र, टेलिभिजन सिरियलमा देखाइने बलात्कारका दृश्यले सानै उमेरका पुरुष दर्शकलाई त्यस्तो व्यवहारलाई सामान्यीकरण गरि वास्तविक जीवनमा नै उतार्न प्रेरित गरिरहेको हुन्छ । अझ अश्लील तस्वीर तथा यौनजन्य पोर्न मुभिजहरूले त बाल मस्तिस्कमा एकदमै नकारात्मक प्रभाव जमाउन पुगेको छ, फलस्वरूप यौन हिंसा तथा बलात्कार नेपाली समाजमा डरलाग्दो गरि बढीरहेको हो । यस्ता दृश्यबाट बालबालिकालाई टाढै राख्नु पर्छ । सरकारले केहि समय अघिदेखी नेपालमा पोर्न साईटहरु बन्द गराएको छ । यसले केहि हदसम्म अपराध घटाउन सघाउँछ ।
सानै उमेरका केटाकेटिहरुलाई मोबाइलको र इन्टरनेट प्रयोग गर्न नदिनुले पनि बलात्कारका घटनाहरु रोक्न मदत गर्छ ।
नेपालमा वेरोजगारको संख्या धेरै भएकालृे पनि बलात्कारका घटनाहरु भइरहेका छन् ।
बलात्कारका घटनाहरु प्राय जस्तो सुनसान र एकान्त ठाँउमा हुने भएकाले प्रहरीको गस्ती त्यस्ता ठाँउमा बढाउनु आवश्यक देखिएको छ । काठमाडौं उपत्यकामा मात्र सुरक्षामा कडाई गर्न लागि परेको सरकार र प्रहरी प्रशासन, नेपालका ग्रमीण भेगमा सुरक्षाको व्यवस्थालाई प्राथमिकता दिएको जस्तो देखिदैन ।
हरेक पुरुषको मस्तिष्कले महिलालाई जीवनदाताको रूपमा आत्मसात गर्नु आवश्यक छ ।
समाज, राष्ट्र, मानवता र प्राकृतिक पर्यावरणलाई अतुलनीय योगदान दिन सक्ने नेपाली बालिकाहरू र नारीहरू बलात्कार र हत्याको शिकार हुनबाट सुरक्षित हुन सक्छन् । प्रत्येक व्यक्ति, परिवार टोलटोल समाज, गाउँपालिका, नगरपालिका, प्रदेशले अनि नेपाल सरकारले पुरुष जागरण अभियानमार्फत एक बालकमा, छोरोमा अनि पुरुषमा नारी आवश्यकता र महानता बारे नविन सोच ल्याउनु जरुरी छ ।
नैतिक शिक्षाको राम्रो व्यवस्था भएमा पनि केही हद सम्म समाजमा हुने यस्ता घटनाहरू रोक्न सकिन्छ । स्कूल, कलेज बाहेक पनि ग्रमिण भेगमा महिला र पुरुष वीचको विभेद हटाउनको लागि नैतिक शिक्षाको आवश्यकता छ ।
अन्य विभिन्न यौनसंग सम्बधित शैक्षिक कर्यक्रमहरु सञ्चालन गर्दा बलात्कार र महिला हिंसा रोक्न मदत गर्छ । जस्तै एचआभी के हो ? यौन दुव्र्यवहार के हो ? यसले निम्त्याउने समस्याहरू के के हुन् ? यो सबै को जानकारी नेपालका हरेक जिल्लाको प्रत्येक क्षेत्रमा दिन जरूरी छ ।
आफ्नो घर–परिवारका सदस्यका बारेमा निगरानी राखि सचेत भईरहने र सधैँ सकारात्मक सोच मनमा लिईरहने बानीको विकास गर्न सकियो भने पनि बलात्कार तथा यौनजन्य हिंसाका घटनाबाट बचाउन सकिन्छ ।
ठूल्ठूला आर्दश र सिद्धान्तका कुरा बाढेर मात्रै बलात्कार न्यूनिकरण गर्न सकिन्छ, भनेर सोच्नु मुर्खता हुन्छ ।
कडा नियम र कानुन बनाएर मात्रै हुँदैन । कानुनको पूर्ण पालना हुनु पनि आवश्यक छ । जसले यस्ता कुराहरू लाई न्युनिकरण गर्न मद्धत गर्नेछ ।
देशका सम्पूर्ण नागरिकलाई उद्यमशील, व्यस्त, आत्मनिर्भर, स्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख गराउन सकिएमा बलात्कारजन्य घटनामा कमी आउने निश्चित देखिएको छ । त्यसैले भएका कानूनको पूर्ण पालना गराउन मुलुकमा बढ्दो यौनजन्य हिंसा कम गर्न घरपरिवार, विद्याल, स्थानिय तह, नागरीक समाज र राज्य स्तरबाट तत्कालै पहलकदमी लिन जरुरी देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया