कता गायब भए सन्दिप ? : प्रहरीलाई छैन खबर, क्यान पनि अनभिज्ञ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछाने एकाएक गायब भएसँगै विभिन्न संशय पैदा भएको छ । उनीविरुद्ध बलात्कारको उजुरी परेको आज एक हप्ता बढी भइसक्दा पनि न प्रहरीले पक्राउ गर्न सकेको छ न उनी नै अनुसन्धानको दायरामा आएका छन् ।

उनीविरुद्ध भदौ २२ गते एक नाबालिका (किशोरी) ले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।काठमाडौं जिल्ला अदालतको अनुमतिमा प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै विभिन्न कोणबाट सामाजिक सञ्जालदेखि आम सञ्चारमाध्यममा आलोचना तथा टिकाटिप्पणी भइरहेको छ ।

टिकाटिप्पणी गर्ने मध्ये कतिपयले सन्दिपलाई फसाउने खेल भइरहेको भन्दै ढाकछोप गरिरहेका छन् भने कतिपयले लामिछानेले गल्ती गरेको कारण सजायको भागिदार हुने तर्क गरिरहेका छन् । बाहिर जे जति हल्ला चलेपनि सन्दिपको केश छिनोफानो गर्ने मुख्य हात भने कानुनकै हो ।

पक्राउ पुर्जी जारी भएसँगै सामाजिक सञ्जालमा लेख्दै सन्दिपले आफूले निर्दोष रहेको र नेपालको कानुनलाई सम्मान गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । त्यसलाई धेरैले सकारात्मक रुपमा लिएका थिए । तर उनी केही दिनदेखि कसैको पनि सम्पर्कमा नरहेका कारण विभिन्न संशयहरु उत्पन्न भएका छन् ।

उनीमाथि आरोप लाग्दा लिग खेल्न हाल वेस्ट इन्डिजमा थिए । आरोप लागेसँगै सहज रुपमा उनी नेपालमा आएर अनुसन्धानमा सहयोग गर्ने धेरैको अपेक्षा रहेको थियो । सामाजिक सञ्जालमा समेत उनले आफू केही दिनमा नेपाल फर्किने बताए पनि हाल उनी कहाँ छन् उनको अवस्थामा अज्ञात छ । यसबारे न प्रहरीलाई नै थाहा छ, न क्यानलाई नै थाहा छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको आज एक हप्ता पुगिसकेको छ । तर पनि हाल उनी कहाँ छन् भन्ने कुरामा बेखबर छ नेपाल प्रहरी पनि ।

घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको तर उनको अवस्थाबारे भने बेखबर रहेको नेपाल प्रहरीको भनाइ रहेको छ ।

घटनाको अनुसन्धान गर्न सन्दीपसँग प्रहरीले कुनै सम्पर्क गर्न भने नसकेको काठमाडौं जिल्ला परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोरा लोकपथसँग बताउँछन् ।  ‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ तर उनीसँग कुनै सम्पर्क हुन सकेको छैन ।’ बोहोराले लोकपथसँग भने ।

त्यस्तै यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक (डीआइजी) टेक प्रसाद राई पनि घटनाबारे मिहिन ढंगले अनुसन्धान भइरहेको बताए । तर सन्दिप कहाँ छन् भन्नेबारे प्रहरी अनभिज्ञ रहेको उनको भनाइबाट पुष्टि हुन्छ । सन्दिपको केशबारे प्रहरीले के गरिरहेको भन्ने लोकपथको प्रश्नमा उनी भन्छन्, ‘घटनाको विषयमा मिहिन ढंगले अनुसन्धान भइरहेको छ ।’ उनले भने, ‘उनी फरार रहेको भन्ने सूचना आएको छ । गम्भीर रुपमा अनुसन्धान भइरहेको विषयमा निष्कर्षमा नपुगी सबै बाहिर ल्याउनु उचित नहोला ।’

यता नेपाल क्रिकेट संघ (क्यान) पनि यसबारेमा अनभिज्ञ रहेको छ । आफू निर्दोष रहेको र सहयोग गर्न अपील गर्दै नेपाल आएर अनुसन्धानमा सहयोग गर्ने बताए पनि अहिले उनको अवस्था अज्ञात रहेको क्यानका सचिव प्रशान्त विक्रम मल्ल बताउँछन् ।

मल्लका अनुसार ५–६ दिन अघि क्यानको सन्दिपसँग सम्पर्क भएको र उनले आफू निर्दोष भएको र आफ्ना लागि वकिलको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

‘५–६ दिन अघि उनी वेस्ट इन्डिजमा रहेका बेला क्यानसँग सम्पर्क भएको थियो । त्यसपछि सन्दिपसँग मेरोसहित क्यानको कुनै सम्पर्क भएको छैन । उनी हाल कहाँ छन् के गर्दै छन् भन्ने बारे जानकारी छैन ।’ मल्लले भने ।

यस्तो छ घटनाको प्रकृती :

उजुरी गर्ने किशोरीले दिएको जाहेरीलाई आधार मान्ने हो भने सन्दीपले उनलाई गत भदौ ५ गते नगरकोट लिएर गएका थिए । नगरकोटमा अबेरसम्म बसेपछि ती किशोरीले आफ्नो होस्टलमा ८ बजे भित्र पुगिसक्नुपर्ने कुरा बताए सन्दीपले आलटाल गर्दै रोकेका थिए । घुम्दै उनीहरु फेरि भक्तपुर आएका थिए, त्यतिबेला रातिको ८ बजिसकेको थियो । राति अबेर भइसकेकोले होटलमा बस्न सन्दीपले आग्रह गरे पनि ती किशोरीले नमानेको जाहेरीमा उल्लेख छ ।

सन्दीपले जिद्धी गरेसँगै दुई वटा कोठा लिने शर्तमा किशोरीको सहमतिमा सन्दीपले आफू त्यसअघि पनि पटकपटक बस्दै आइरहेको काठमाडौंको होटल काठमाडौं इनमा एउटा कोठा बुक गरे । बेलुका मादक पदार्थ सेवन गरी सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको ति बालिकाको जाहेरीमा उल्लेख छ । प्रहरीले अनुसन्धानका क्रममा उनीहरु बसेको दिनको सीसीटिभी फुटेज पनि होटलबाट संकलन गरिसकेको छ । सीसीटिभी फुटेजमा पनि बालिकाले दिएको जाहेरी अनुसार नै उनीहरु होटलमा गएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?