चाडवाडको मुखैमा दिनहु दुर्घटना : ५ दिनमा १५ को मृत्यु, प्रहरी भन्छन्, चालकको लापरवाही झन् मुख्यकारण

काठमाडौं । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता महत्वपूर्ण चाडपर्वहरु जति जति नजिकिँदै छन् त्यति कै मात्रामा सवारी दुर्घटना बढ्दै गएका छन् । यस्ता सवारी दुर्घटना काठमाडौं उपत्यकामा मात्र होइन देशै भर हुन थालेका छन् । 

गत बिहीवारदेखि आज सोमवारसम्ममा सुदूरपश्चिमको बाजुरादेखि पूर्वको झापासम्म लगातार सवारी दुर्घटना भएको तथ्य प्रहरीले नै सार्वजनिक गरेको छ । ती दुर्घटनामा परी पाँच दिनमा १५ जना भन्दा बढीले ज्यान गुमाएका छन् । 

ती दुर्घटनामा एक दर्जन जति घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, चाडपर्वमा दुर्घटना हुनुमा सवारी चालकको नै मुख्य कमजोरी देखिन्छ । त्यसपछि यात्रुको ‘जवरजस्ती’ पनि केही कारणको रुपमा रहेको छ । 

दुर्घटना हुनुमा चालक जिम्मेवार

ट्राफिक महाशाखा प्रमुख बसन्त पन्त भन्छन्, धेरै जसो सवारी दुर्घटना चालकका कारण हुने गर्छन । चाडवाडमा झन् बढी हुन्छन् । चाडवाडको बेला पैसा कमाउने लोभले चालकहरुले सवारी साधनको अवस्थादेखि सडकको दुदर्शा समेत हेर्दैन्न । 

उनका अनुसार, चालकले मदिरा सेवन गरी सवारी चलाउने, सवारीको अवस्थाका वारेमा ध्यान नदिने, क्षमता भन्दा बढी यात्रु हुल्ने, तिब्रगतिमा सवारी हाक्ने, पैसा कमाउने बेला यहि हो भन्दै लेन अनुशासन तथा सवारी सञ्चालनमा तछाड मछाड गर्ने र ट्राफिक नियमको पटक्कै पालना नगर्ने भएकाले चाडवाडमा दुर्घटना बढ्ने गरेका हुन् । 

त्यस्तै, यात्रुहरु पनि चाडवाडको हतारोसँगै सकिनसकी जस्तो त्यस्तै सवारी साधनमा चढ्ने, खचाखच भिड भएकै सवारी साधनमा ज्यानको माया मारेर यात्रा गर्ने, सवारी साधन आफूखुशी सञ्चालन गर्न धम्की दिने, चालकलाई गाली गर्ने, सवारी साधन गुड्नै नसक्ने सडकमा जवरजस्ती सवारी गुडाउन लगाउने भएकाले दुर्घटना हुने गरेको भनाई ट्राफिक प्रहरीको छ । 

ट्राफिक नियमनमा कडाई

दशैँ, तिहार र छठ पर्वको पूर्वसन्ध्यामा लगातार सवारी दुर्घटना हुन थालेपछि ‘ट्राफिक नियम’ कडाइका साथ लागू गर्ने तयारी गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यका तथा छिमेकी जिल्लासँग जोडिएको सिमाना नजिक अस्थायी ट्राफिक पोष्ट स्थापना गरी कारवाही गर्ने जनाएको छ । 

मापसे चेकजाँच, सवारी चेकजाँच, सवारी कागजपत्र चेकजाँच, तिब्रगतिका विषयमा उपत्यकाको सडक–सडकमा नियमित चेकजाँच बढाइएको छ । प्रहरीले प्रधान कार्यालयले ट्राफिक नियमको परिपालना गराउने कार्य देशैभर कडाइमा साथ लागू गर्न निर्देशन दिई सकेको छ । 

केही दिनयता मुलुकभर भइरहेका सवारी दुर्घटनालाई न्यूनिकरण गर्न तथा नियन्त्रण गर्न ट्राफिक नियमको परिपालना गराउने कार्यमा कडाइ अभियान प्रभावकारी हुने विश्वास महाशाखाले लिएको छ । 

ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार लम्सालले चाडवाडलाई लक्षित गरी विशेष ट्राफिक सुरक्षा योजना–२०७५ सञ्चालनमा आइसकेकाले चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण रुपमा परिपालना गर्न आग्रह गरेका छन् ।  

लगातार सवारी दुर्घटना 

दशैँ तिहार र छठ पर्वको पूर्वसन्ध्यामा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा लगातार सवारी दुर्घटना हुन थालेका छन् । ट्राफिक प्रहरीका अनुसार, काठमाडौं, भक्तपुर, बाँके, बारा, दाङ, बाजुरा, झापा  र सिन्धुलीमा शनिवार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सोनारीमा शनिवार ट्रक र माइक्रो बस एकआपसमा ठोक्कीदा पाँचजनाको मृत्यु र १८ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्ज जादै गरेको रा १ ख १६६२ नम्वरको माइक्रो र विपरित दिशाबाट आएको लु १ ख ७७२९ नम्वरको ट्रक एकआपसमा ठोक्कीदा माइक्रोबस पल्टीएको थियो । 

काठमाडौं उपत्यकाको तीन स्थानमा दुर्घटना

त्यस्तै, काठमाडौंको नैकापस्थित सडकमा ना.६ ख ३०४१ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बा.८९ प नम्बरको मोटरसाइकल चालक २५ वर्षीय पूर्ण थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

भक्तपुरमा पनि केही दिन एक ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काभ्रेमा पनि सवारी दुर्घटनामा परि एकजनाको मृत्यु दुईजना घाइते भएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, सोही मोटरसाइकलमा सवार विद्या थापा सख्त घाइते भएकाले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानी कै नागार्जुन नगरपालिकाको वडा नम्बर–१ स्थित बीचसडकमा बा ४ च ५९०९ नम्वरको कार एक्कासी पल्टिदा कारमा सवार रमेश नाम गरेका व्यक्तिको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको जानकारी ट्राफिक प्रहरी महाशाखाले दिएको छ । 

बारा – सिमारमा ना.५ ख ७८५५ नम्बरको ट्रकले ना.१७ प १९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३५ वर्षीया शोभा सिग्देलको घटनास्थल मै मृत्यु भएको छ । 
परवानीपुरमा ना.१ ज ७६४८ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ४२ बर्षीय रामबहादुर महराको गण्डक उपचारको क्रममा मृत्यु भएको जानकारी प्रहरीले दिएको हो । प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन तथा चालकलाई नियन्त्रणमा लिएको छ । 

दाङ – घोराही बकुलाईमा रा.१ त ७६७ नम्बरको ट्याक्टरमा यात्रा गरिरहेका २२ वर्षीय चुनाराम रैदासको ट्याक्टरबाट खसेर मृत्यु भएको छ । ट्याक्टरबाट सडकमा बसेपछि गम्भीर घाइते भएका रैदासलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । 

बाजुरा – बढिमालिका ढम्कनेस्थित सडकमा से.१ त ८२०९ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय रामबहादुर रोकायको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रोकायलाई थप उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको हो । 

सिन्धुली – कमलामाई सिलामेस्थित सडकमा अनटेष्ट लेखेको ट्याक्टर दुर्घटना हुँदा सहचालक रमेश घिसिङको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा संलग्न चालक भने फरार भएकाले खोजी भइरहेको जानकारी प्रहरीले दिएको हो । 

चालकको लापरवाही, तिब्रगति, मदिरा सेवन र ट्राफिक नियमको परिपालना नगर्दा उक्त दुर्घटना भएको दावी ट्राफिक प्रहरी महाशाखाकाको छ । दुर्घटनामा चालक सुरक्षित हुने तर यात्रुले अकालमै ज्यान गुमाउने भएकाले चालक लक्षित जनचेतना कार्यक्रममा बढी जोड दिएको महाशाखाले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?