काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटको अन्तिम खेलमा आइतबार बंगलादेशसँग ३-० को नतिजामा पराजित भएसँगै नेपाल समूह ‘बी’मा जितविहीन भएको छ । सुरुवाती तीन खेलमा पराजय भोगेको नेपाली टिम अन्तिम खेलमा सान्त्वना जितको अपेक्षासहित मैदानमा उत्रिएको थियो ।
तर, सुरुआती समयमै दश जना र पहिलो हाफमै ९ जनामा सीमित भएपछि नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरुद्धको हार टार्न सकेन ।
बहराइनमा भएको छनोट अन्तर्गत नेपाल पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३–१ को हार बेहोरेको नेपालले बहराइनसँग १० जनामा सीमित हुँदा ६–० को फराकिलो नतिजामा पराजित हुनु परेको थियो ।
आइतबार राति छैटौँ मिनेटमा नेपाली रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै बंगलादेशका मोजिबोर जोनीले पहिलो गोल गरेका थिए । त्यसको चार मिनेट नबित्दै बंगलादेशले पियास नोभाको गोलबाट अग्रता दोब्बर पारेको थियो ।
बंगलादेशी खेलाडीलाई कुहिनाले प्रहार गरेपछि २६औँ मिनेटमा नेपालका सेन्टर ब्याक अजय चौधरीले रातो कार्डको सामना गर्नु परेको थियो ।
त्यसको ६ मिनेटअघि सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका कप्तान आयुष घलान अभद्र व्यबहारका कारण रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । आयुषसँग अभद्र व्यबहारमा सामेल भएकै कारण बंगलादेशका अजिजुल हकी पनि दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।
दोस्रो हाफको सुरुआतदेखि नै बंगलादेशले दबाब बनाएको थियो । बंगलादेशी फरवार्ड नोभाले दायाँतर्फबाट दिएको क्रसलाई साजिद हसनले गोलमा परिणत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया