काठमाडौं । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गरिरहेको बताएको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवर्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी गराएको, टेलिकमले जनाएको हो ।
ग्राहकहरुको अत्यधिक रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकवर्गको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम भोलि असोज ४ गतेदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायतका ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने बताइएको छ ।
मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने तथा नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जानुहुन ग्राहकवर्गमा अनुरोध छ । यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्ने टेलिकमको भनाई छ । यसरी डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भन्ने थाहा पाउन सकिन्छ ।
त्यसैगरी, आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा ए्याड मोवाईल प्लान वा ए्याड डाटा प्लालन देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ ।
त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिने टेलिकमको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया