काठमाडौं । बाग्लुङमा जारी २२ औँ राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
समूह ‘ए’मा रहेको एपीएफले लगातार तेस्रो खेलमा जीत हात पादै अन्तिम चारमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
गल्कोटमा बुधवार सम्पन्न भएको समूह चरणको खेलमा एपीएफले विभागिय टिम त्रिभुवन आर्मी क्लबमाथि ३-२ को संघर्षपूर्ण जीत हात पारेको हो । एपीएफले खेलको पहिलो सेटमा पराजय बेहोरेको थियो । पहिलो सेटमा एपीएफ आर्मीसँग १८-२५ सेटमा पराजित भयो । त्यसपछिका बाँकी दुई सेटमा एपीएफले लगातार जीत दर्ता गरायो ।
एपीएफले आर्मीलाई खेलको दोस्रो सेटमा २५-१८ र २५-१९ ले हरायो । निक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको चौथो सेट पुनः आर्मी क्लबले आफ्नो पक्षमा पार्यो । आर्मीले चौथो सेटमा एपीएफलाई २६-२४ ले पराजित गर्यो । त्यस्तै अन्तिम सेटमा एपीएफले १५-१२ को सेटमा पराजित गर्दै संघर्षपूर्ण जीत निकाल्न सफल भएको हो ।
यसअघि एपीएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया