काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १-० गोलले पराजित गर्दै खेलमा सुखद शुरुवात गरेको छ ।
खेलको ३२ औँ मिनेटमा अजित भण्डारीले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
त्यसअघि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसको दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले सिक्स यार्डभित्रबाट गरेको प्रहार उनले रोकेका थिए । त्यसअघि हेम तामाङको लामो दूरीको प्रहार पनि उनले उत्कृष्ट डाइभ दिँदै रोके ।
रोमाञ्चक बनेको निर्धारित समयसम्म जावलाखेल युथ क्लबले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा एक-शुन्यको हार बेहोर्र्यो ।
खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच घोषित हुँदै १० हजार प्राप्त गरे । जितसँगै पुलिसले तीन अङ्क जोडेको छ ।
त्यस्तै बिहीवार नै भएको पहिलो खेलमा थ्रीस्टार क्लबले फ्रेन्ड्सलाई १-० गोल अन्तरले पराजित गर्यो । खेलको १७ औँ मिनेटमा थ्रीस्टार क्लबका लागि रन्जन विष्टले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
प्रतियोगिता अन्तर्गत भोली ‘शुक्रवार’ हिमालयन शेर्पा क्लब र एपिएफबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दीबीच दोस्रो खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया