प्रमोद दशैँमा नौ दिन व्रत बस्ने, बेनिशा मासु खाने, दीपाश्री नन–भेज

काठमाडौं । नायिका बेनिशा हमालले केही वर्ष मासु खान छोडिन् । शुद्ध शाकाहारी त नभनौँ, तर उनले माछाबाहेक अरु केही खाइनन् । त्यस्तै तीन महिना भयो अहिले उनी फेरि नन–भेज भएकी छिन् । मासु खाँदै छोड्दै गरेको उनले तीनपटक भइसक्यो । ‘मासु खान त्यति मन खुल्ने त होइन, तर निरन्तरजस्तो काम गर्न थालेपछि बाध्यता नै भयो, शक्ति दिने अरु चीजभन्दा बरु मासु नै खाऊँ न त भनेर खान थालेँ ।’, बेनिशाले भनिन् ।

जब बीचमा उनी शाकाहारी बनेर चार वर्षसम्म मासु खाइनन्, त्यतिबेला मासु खान मन पनि लागेन । अहिले भने उनको आदत बिग्रेको छ । उनले भनिन्, ‘घरमा सबैले बानी पारिदिए ।’

शाकाहारी त होइनन्, तर केही समय उनले भेज बन्दा शाकाहारी राम्रो भन्ने गर्थिन् । अहिले आफूलाई ‘ब्यालेन्स’ राख्न मासु खान थालेकी छिन् । दशैँको बेला बलि प्रथालाई धर्मसँग जोडेर पनि हेरिन्छ । अर्कातिर यसलाई धर्मकै एउटा खराब पाटोका रुपमा पनि हेरिन्छ । ‘बलि प्रथाको नाममा विकृति चाहिँ भित्रिनुभएन, आफू मासु खाने अनि बलि प्रथाको विरोध गर्न त मैले पनि अलिक सुहाएन’, बेनिशाले सुनाइन्, ‘बलिलाई गलत नै त भन्न सकिन्न, बरु हिंस्रक रुपले काटमार गर्न भएन, सौहार्दपूर्ण वातावरणमा खसीबोका काटेर खानु सामान्य लाग्छ ।’

बेनिशाले चितवनस्थित आफ्नो घरमा खसी काट्ने गरेको सुनाउँछिन् । तर खसी काटेको हेर्न चाहिँ उनलाई पनि सकस पर्छ । खसी काट्ने बेलामा उनी अन्यत्र जान्छिन् । ‘अहिले त दशैँमा पनि अरुलाई देखाउन खोज्ने चलन बढेको छ, सबैले घाँटी हेरेर हाड निल्ने हो, दशैँलाई आत्मीयता बढाउने चाडका रुपमा मनाउँछ’, बलिको विरोध गर्नेलाई उनले प्रश्न गरिन्, ‘पहिला शाकाहारी भएर देखाउनुस्, त्यसपछि बलिको विरोध गर्नुस्, दशैँमा खसीबोका काट्ने पनि एउटा चलन नै त हो ।’

प्रमोद अग्रहरी दशैँमा नौ दिन व्रत बस्छन् । यो नौ दिनमा उनले फलफुल र दूध खान्छन् । दशैँलाई उनले महान चाडका रुपमा मनाउने गरेको बताउँछन् । ‘नुन पनि नखाई नौ दिनसम्म व्रत बस्छु, वर्षभरि कामको चापले गर्दा शरीरलेराम्रोसँग आराम पनि पाएको हुँदैन, त्यसैले दशैँको नौ दिनमा व्रत बस्ने गर्छु, यसले शरीरलाई फाइदा पनि पु¥याउँछ’, अग्रहरीले भने ।

प्रमोद अग्रहरी शाकाहारी हुन् । हरेक कुराको नेगेटिभ र पोजेटिभ भएझैँ बलि प्रथाको पनि दुवै पक्ष हुने धारणा राखे । ‘जसलाई जसरी मनाउन मन लाग्छ मनाउनुस्, हामी चाहिँ बलि दिने गर्दैनौँ, समाजमा विकृति नफैलिने गरी मासु खाँदा चाहिँ फरक पर्दैन जस्तो लाग्दैन ।’, उनले भने ।

दशैँमा उनलाई विशेष रमाइलो लाग्ने गरेको र वर्षभरिको थकानलाई रिलिफ दिने काम पनि दशैँले गरेको उनी बताउँछन् ।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला पनि शाकाहारी हुन् । तर, उनलाई दशैँमा दिइने बलि प्रथालाई ‘गलत’ नै भनेर पनि भन्न गाह्रो भइरहेको छ । धर्म र भगवानमा विश्वास गर्ने निरौलाले भनिन्, ‘मन्दिरमा बलि चढाउँदा नवदुर्गा खुशी हुने भन्ने परम्परा छ, यसका पनि विकल्प त होलान् नि, म आफू शाकाहारी भएकाले पनि के भन्छु भने सकभर पूरै नेपालीले मासु नखाऔँ ।’

उनले ३ करोड नेपालीलाई मासु नखाने सल्लाह दिन्छिन् । आफूले मासु खान छोडेको २१ वर्ष भएको र यो उमेरमा पनि सुन्दर देखिनुको रहस्य आफू शाकाहारी भएको दीपाश्री बताउँछिन् ।

‘२१ वर्षअघि एक आश्रममा ध्यान बस्न नसकेपछि यसको कारण ध्यान मासु खाने भएर भन्नुभयो, त्यसपछि मैले मासु छोडेँ’, निरौलाले थपिन्, ‘बलि प्रथा गलत भन्न त गाह्रो भइरहेको छ, तर म शाकाहारी बन्दा फाइदा छ, त्यसैले अरुलाई पनि मासु नखान आग्रह गर्छु ।’

यस्तै दीपकराज गिरी, दिनेश राउत लगायतका अन्य फिल्मकर्मी पनि शाकाहारी बनेका छन् । दीपकराज गिरीले मासु खान छोडेको सात वर्ष भइसकेको छ भने राउतलाई त झन् मासुको स्वादसमेत थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?