विश्वकप खेल्ने सपना पूरा गरेरै छाड्छौँ  : कप्तान खड्का

काठमाडौं । मलेसियामा भएको विश्व टी-२० एशिया क्वालिफायर च्याम्पियनसीपको विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीसहितको टोली शनिवार स्वदेश फर्किएको छ । 

खेलाडीसहितको टोलीलाई खेलकुद पदाधिकारीहरुले शनिवार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालले विश्व टी-२० एशिया क्वालिफायर खेलमा अपराजित रहँदै समूह ‘बी’को विजेता बन्दै उपाधिमाथि कब्जा जमाएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कप्तान पारस खड्काले अस्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने नेपालको सपना रहेको बताए । 

‘‘हामीहरुले फेरी विश्वकप खेल्ने सपना देखेका छौँ, त्यो सपना हामीहरु अवश्व पूरा गरेर नै छाड्ने छौँ, नेपाली टिमले देखेको सपना अन्तर्गत पहिलो चरण पार गरिसकेका छौँ, अब दुई चरण बाँकी छ, त्यस छनोट चरण पनि पार गर्ने नेपाली टिमको मुख्य उद्देश्य हुनेछ’’ उनले बताए । 

 

साथै, कप्तान खड्काले मलेसियामा भएको छनोट खेलमा नेपालले उत्कृष्ट खेल खेलेको पनि जानकारी दिए ।

‘‘मलेलियामा सबै खेलाडीहरुले आफ्नो क्षमता अनुसार खेल खेल्यो, त्यसमा निक्कै खुशी छु, हामीहरु एशिया क्वालिफायरमा छनोट हुन्छु भनेर नै मलेसिया गएका थियौँ, त्यहि अनुसार नतिजा पनि रामै आयो’’ उनले थपे । 

उनले आउदो विश्वकप छनोटको खेल अझै चुनौतीपुर्ण रहेको समेत बताए । त्यसका लागि अहिले देखि नै तयारीमा लाग्नु पर्ने कप्तान खड्काले उल्लेख गरे ।

‘‘आउदो एशिया क्वालिफायर खेल अझै टफ हुनेछ, ७ टोलीले खेल्ने  छनोट त्यति सजिलो भने पक्कै छैन, टी-२० ढाँचामा कुनैपनि टिमले नतिजा आफ्नो पक्षमा सहजै पार्न सक्छ, त्यसका लागि अहिले देखि नै टिमले तयारी गर्नुपर्छ’’ उनले बताए । 

कप्तान खड्काले नेपाली टोलीको प्रर्दशनमा सुधार ल्याउन नयाँ पद्वतीको अभ्यासमा जानुपर्ने बताए । 

उनले बलिङ, फिल्डिङ र ब्याटिङलाई मध्यनजरमा राख्दै विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी गर्न नसके नेपाली टिमलाई छनोट प्रतियोगिता खेल्न निकै कठिन हुने बताए । शुक्रवार अघोषित फाइनल खेलमा नेपालले सिंगापुरलाई रनरेटको आधारमा पछि पार्दै  एशिया क्वालिफायरको च्याम्पियन बनेको थियो ।

सिंगापुरविरुद्ध खेलका दौरान वर्षा भएपछि खेलको निर्णय रनरेटको आधारबाट गरिएको थियो । यससँगै नेपाल छनोटको अर्को चरणमा प्रवेश  गर्‍यो । ६ खेलमा नेपालले ५ मा जित र १ बराबरी गरेको थियो । 

प्रतियोगितामा नेपालले म्यानमार र मलेसियालाई ८ विकेटले, थाइल्यान्डलाई १ सय ४० रनले, भुटानलाई १ सय १७ रनले तथा चीनलाई १० विकेटले पराजित गरेको थियो । यस प्रतियोगिताको शीर्ष तीन टोली नेपालसहित सिंगापुर र मलेसिया पनि अघिल्लो चरणमा प्रवेश गरेको छ । 

एशिया क्वालिफायरमा ७ टिमले प्रतिस्पर्धा गर्नेछन् । संयुक्त अरब इमिरेट्स ‘युएई’, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेका छन्। एशिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा पुग्नेछन् । 

१४ टिम सहभागी हुने छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान तय गर्नेछन् । सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने मौका प्राप्त गर्नेछन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?