देख्छन् खुसी तस्बिरमा मनमा हुन्न…!

परदेशीको पीडा

‘देख्छन् खुसी तस्बिरमा मनमा हुन्न, एकान्तमा नरोएको दिनै हुन्न’ । पुष्पन प्रधानको स्वरमा सजिएको यो गीति अंशले परदेशीएका नेपालीहरुको कथा व्यथालाई बोकेको छ ।

उसो त जब–जब चाडबाड नजिकिन्छन् तब धादिङकी सुविद्या रिजाल (हाल जापान) लाई यो गीतले घरदेशको सम्झना दिलाउँछ ।  उनी जापान गएपछिको पहिलो दसैँ हो, यो । यसअघि घरपरिवारबाट टाढा नबसेकी सुविद्या नेपालमा दसैँको रौनक बढेसँगै मन खल्लो पारेर बसेकी छन् । ‘घरदेशमा रहेका साथीहरुले दसैँको मेलेमा सामाजिक सञ्जालमा पोष्ट गरेका कुराहरुले मन खिन्न हुँदो रहेछ,’ सुविद्या भन्छिन्, ‘अब साथीहरुको रमाइलो सामाजिक सञ्जालमा हेरेर रमाउनेछु ।’

दसैँको टीकाको दिन सुविद्यालाई निकै मन पर्थ्यो । ‘टीकाको माहोल अनि एकदिन भएपनि धर्ती छोड्नुपर्छ भन्दै खेलेको पिङ मेरो मानसपटलमा अझै ताजा छन्,’ मलिन स्वरमा सुविद्या भन्छिन्, ‘एक हप्ता अगाडिदेखिको सपिङ योजना, दसैँको त्यो रमाइलो आहा ! अहिले नै नेपाल फर्कौं जस्तो लाग्छ तर के गर्नु आफ्नै बाध्यता छ ।’ यहीबेला सुविद्यालाई बालापनको दसैँको याद आउँछ । ‘पहिलेको दसैँको भावले मन आनन्दित हुन्थ्यो तर अहिलेको दशैँको भाव त कानले मात्र अनुभूति गरिरहेको छ,’ उनी भन्छिन्, ‘दसैँ आयो र सामाजिक सञ्जाल हेर्दा नेपालमा मात्रै दसैँ आएको देख्छु ।’

त्यस्तै, सुविद्या जस्तै अस्ट्रेलियाको मेलवर्नमा बस्दै आएकी देवी भट्टको कथा पनि उस्तै छ । तीन वर्ष भयो उनले नेपालको दसैँ तस्बिरमा मात्र हेरेको । मोबाइलमा म्यासेन्जरको भिडियो कलमार्फत टीका लगाएको । घरलाई फोनमा हेरेको र परिवारको आवाज मात्र सुनेको । हो, चाडपर्वका बेला घरदेशमा नहुनुको पीडालाई यसैगरी फोनबाटै सुनाइन् ।

 

परिवारसँग दसैँ, तिहार मनाउन नपाएको पीडा उनी यत्तिमै बयान गर्न सक्दिनन् । फेसबुकमा देखिरहने फोटोले पिरोल्छ, उनलाई । ‘चाडबाडमा परदेशीसँग आँखाभरी आँसु र मनभरी पीडाबाहेक केही हुँदो रहेनछ,’ उनी भन्छिन्, ‘एक दुई घण्टाको बाटो पनि त हैन आज आएर भोलि फर्कन्छु भन्नलाई ।’
देशमा उच्च शिक्षाको लागि राम्रो विश्वविद्यालय नहुनु र सरकारले रोजगारीका अवसर सिर्जना गर्न नसक्नुले थुप्रै नेपालीले विदेशी भूमीमा पसिना बेचिरहेका छन् ।

त्यस्तै, नुवाकोटका विकाश पुडासैनीलाई पनि दसैँले पिरोल्छ । हाल उनी अध्ययनका लागि जापानमा छन् । उनी आज दसैँको टिकाको दिन भएपनि नाइट ड्यूटीमा जाँदैछन् । नेपालमा हुँदा दसैँको महत्व नै बेग्लै हुन्थ्यो । ‘काठमाडौंबाट घर जानलाई साथीहरु सबैलाई फोन गरिन्थ्यो सबै एकैपटक रमाइलो गर्दै जान्थ्यौँ,’ उनी ती दिन सम्झन्छन्, ‘घरमा जमरा राख्ने, गाउँमा पिङ हाल्ने, घर आँगनलाई लिपपोत गरेर चिटिक्क बनाइन्थ्यो । अनी पो दशैँ दशैँ जस्तो लाग्थ्यो, अहिले यो अर्काको देशमा आइएको छ । के दसैँ के तिहार ।’

आज टीकाको दिन उनले जापानमै साथीहरु मिलेर टीका लगाए । ‘यहाँ भएका साथीहरु मिलेर टिका लगायौँ,’ उनी भन्छन्, ‘बेलुका नाइट ड्यूटीका लागि जानुछ । अब परदेशमा आएपछि नेपालमा जस्तो माहोल खोजेर नभेटिने रहेछ ।’

सुविद्या, देवी र विकास त केवल प्रतिनिधि पात्र मात्रै हुन् । विभिन्न कारणले विदेशिएका नेपालीहरु जो दसैँ तिहार जस्ता चाडपर्व मनाउनबाट बञ्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?