असनको अस्तव्यस्ततामा पनि एउटा घर परैबाट छुट्टिन्छ । घरको बनावट र निर्माण शैली त अरु भन्दा खासै फरक होइन । तर, घरबाहिर झुन्डाइएका रङ्गीविरङ्गी कागज, प्लास्टिक र कपडाका चङ्गाले त्यसलाई अरुभन्दा भिन्न देखाउँछ र सुन्दर पनि । वि सं २०३० सालदेखि सो घर चङ्गा व्यापारको साक्षी भएर बसेको छ । र, यसरी नै विगत ४५ वर्षदेखि सो घरका भित्तामा राता, नीला, पहेंला रङ्गीविरङ्गी चङ्गाहरु फर्फराइरहेका छन् । पसलको नाम हो, अन्नपूर्ण काइट हाउस । पैंतालीस वर्ष लामो इतिहास बोकेको अन्नपूर्ण काइट हाउसले ‘चङ्गा कल्चर’लाई मासिन दिएको छैन । हरेक वर्ष भदौ र असोज महिनामै मात्र चङ्गा बेचेर भएपनि वर्षौंदेखिको चङ्गा उडाएर मनोरञ्जन लिने परम्पराको साख जोगाइरहेको छ ।
काइट हाउस लोकप्रिय छ । चार दशक लामो इतिहासका कारण । र इतिहासलाई जोगाउन लागिपरेको श्रेष्ठ परिवारका कारण । बुबाले शुरु गरेको यस काइट हाउसलाई अहिले अनिल श्रेष्ठले निरन्तरता दिइरहेका छन् । ‘यो दोकान शुरु गर्दा म ५ वर्षको मात्र थिएँ ।’ व्यापार शुरु गर्दाको क्षण स्मरण गर्दै लोकपथलाई बताए । ‘म बुढो भएँ तर, दोकान झन्झन् जवान हुँदैछ, फस्टाउँदैछ ।’ उनले हाँस्दै थपे । त्यसैले यो हाम्रो ‘बिज्नेस’ मात्र होइन ‘फेमिली बिज्नेस’ हो । उनी मुस्कुराए ।
अन्नपूर्ण काइट हाउसले उपत्यकामा मात्र नभएर पोखरा, धरान, गोर्खा, सोलुखुम्बुसम्म चङ्गा सप्लाइ गर्दै आएको छ । पुरानो र भरपर्दो भएकाले पनि प्राय खुद्रा व्यापारीहरु यही काइट हाउसबाट सामान लैजान्छन् । तर, आफ्नो ‘फेमिली बिज्नेस’को इतिहासलाई अझै धेरै वर्ष तन्काउन सम्भव छैन जस्तो लाग्छ अनिललाई । जसरी युवा पुस्तामाझ चङ्गाको लोकप्रियता कम हुँदैछ उसैगरी चङ्गाको व्यापार पनि । केही वर्ष अघिसम्म सिजनमा दिनको २ लाख सम्मको चङ्गा बिक्री गर्ने अनिल अहिले व्यापार निकै घटेको बताउँछन् ।
‘अहिले दिनको कति बिक्री हुन्छ ?’
‘अहिले त त्यस्तै ५० ६० हजार जतिको बिक्री हुन्छ ।’
अनिलका अनुसार यति व्यापार हुनु नराम्रो त होइन तर, खस्केको पक्कै हो । यही क्रममा खस्कँदै जाने हो भने छिट्टै चङ्गा व्यापार विस्थापित हुन्छ भन्ने डर उनको मनमा पलाइसकेको छ ।
पहिले भदौ लाग्नासाथ आकाश रङ्गीन देखिन्थ्यो । खुल्ला चौरी तथा घरको छतबाट चङ्गा उडाउने उत्साहले दशैंलाई निम्तो दिन्थ्यो । कसको चङ्गा सबैभन्दा माथिसम्म उड्छ भन्ने घोषित वा अघोषित रुपमा प्रतिस्पर्धा चल्थ्यो । अहिले दृश्य बदलियो । बादलका चोइटासँग फाट्टफुट्ट चङ्गाहरु उडिरहेको देखिन्छन् ।
‘सबै मोबाइलको कारण हो ।’ अनिलको आवाजमा केही रुखोपन ओभरल्याप भयो । उनकै अभिव्यक्तिलाई प्रष्ट्याउन अनुरोध ग¥यौँ ।
‘सबैको हातहातमा मोबाइल फोन छ । मोबाइलमा इन्टरनेट छ । कोठामा बसेर आनन्दले मोबाइल चलाउनको साटो कसले चङ्गा उडाउने झन्झट गरिरहने ?’ उनको भनाइमा (सत्यता) झल्कियो । दशैंमा चङ्गा उडाउने परम्परा लगभग लोप नै भइसक्यो भन्दा फरक नपर्ला । चङ्गा उडानुको पछाडि छुट्टै सांस्कृतिक महत्त्व छ ।
नेपाली संस्कृतिले चङ्गालाई दूतको संज्ञा दिन्छ । वर्षा यामको दौरान अत्याधिक वर्षा भएपछि ‘हामीसँग पर्याप्त पानी छ । अब पानी पर्नु पर्दैन’ भन्ने सन्देश स्वर्गका राजा इन्द्र सम्म पु-याउनका लागि चङ्गाको प्रयोग गरिएको हो । यही क्रियालाई बारम्बार गरेपछियसले परम्पराको रुप लिएको संस्कृतिविदहरुको दाबी छ । आफ्नो इच्छाअनुसार जति बेला मन लाग्यो उही बेला चङ्गा उडाउन मिल्दैन ।
यद्यपी अहिलेको परिवेशलाई नियाल्दा हाम्रो संस्कृति नै लोप हुन लागेको प्रतीत हुन्छ ।
जे होस् धेरथोर बिक्री हुने चङ्गाहरुमा प्राय प्लास्टिक निर्मित चङ्गा पर्छन् । यसका अतिरिक्त कागज, कपडाबाट बनेका चङ्गा पनि बिक्री नहुने होइनन् । बालबालिकालाई आकर्षित गर्न विभिन्न कार्टुनका चरित्रहरुको चित्र प्रिन्ट गरेका चङ्गा पनि उपलब्ध छन् । दुर्भाग्यवश हाम्रो आकाशमा उड्ने चङ्गा भारतभूमिमा बनाइन्छ । अर्थात्, नेपालमा चङ्गा बनिँदैनन् । ‘लट्टाइ चाहिँ यहीँ बनिन्छ है ।’ अनिलले बताए ।
जति पनि चङ्गा बजारमा उपलब्ध छन्, ती सबै कि भारत कि चीनबाट आयात गरिने जानकारी अनिलले दिए । उनको काइट हाउसमा लखनउबाट चङ्गा ल्याइन्छ । अनिल भन्छन् ‘धेरै लामो दुरी पार गरेर नेपाल आउन्जेल कतिपय चङ्गाहरु त उडाउनै नमिल्ने भइसक्छन् ।’
त्यसो त नेपालमा चङ्गा कहिल्यै नबनिएको होइन । पहिले नेपाली कागजबाट चङ्गा बनाइन्थ्यो । तर, अहिले त्यसरी चङ्गा बनाउने जनशक्ति नै छैनन् । ‘उहिलेका बाजेबराजुहरु सक्किगए । अहिलेकाले बनाउने होइनन् । कहाँबाट हुन्छ त ?’ अनिल कड्किए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया