काठमाडौं । अल्ट्रा म्याराथन धाविका मिरा राईले स्वदेशमा नै दशैँ मनाउने भएकी छिन् ।
धाविका राई सोमवार अमेरिकाको बोस्टन एयरपोर्टबाट नेपाल फर्कदै गरेकी बताइन् । उनी गत सातामात्र एशिया सोसाइटीले ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित भएकी थिइन् । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा उनले सो सम्मान प्राप्त गरेकी थिइन् ।
सम्मानको लागि एशिया सोसाइटीप्रति कृतज्ञ हुँदै उनले भनिन्,
‘यो सम्मानप्रति आभारी छु, मलाई आज यो स्थानसम्म ल्याइ पुर्याउन विशेष सहयोग गर्ने टिम र सबै जना समर्थकहलाई धन्यवाद दिन चाहन्छु, मेरो टिमलाई मलाई जुन प्रकारको सपोर्ट गरेका छन्, म उनीहरु सबैप्रति कृतज्ञता प्रकट गर्न चाहान्छु, उनीहरुको सहयोग र साथले आज मैले अमेरिकामा यति ठूलो सम्मान पाउन सफल भएकी छु’ उनले थपिन् ।
उनले गत अगस्ट ८ तारिकमा मात्र एशियाकै ठूलोे अवार्ड प्राप्त गरेकी थिइन् ।
‘मेरो अमेरिका भिजिट सफल भएको छ, म सबै देश तथा विदेशमा रहनु भएको सबै नेपालीहरु प्रति विजया दशमीको शुभकामना दिन चाहान्छु । साथै आगामी दिनमा म अझै यसै खेलमार्फत नेपालको नाम शिखरसम्म पुर्याउने कोशिश गर्नेछु ।’ उनले लोकपथलाई भनिन् ।
अल्ट्रा धाविका राईले अमेरिकामा रहँदा वासिङ्गन डिसी र बोस्टनमा आफ्नो डकुमेन्ट्री देखाएको जानकारी दिइन् । राईले हङकङमा आगामी नोभेम्बर हुने रेशमा अरु खेलाडीहरुलाई सहभागी गराउने पनि उनले बताइन् ।
‘मैले चाँडै नै भोजपुर रेश गर्दै छु, त्यस रेशको विजेता र उपविजेता खेलाडीलाई गोर्खा टेल बेल्जर रेशमा लाग्छु । हङकङमा हुने रेशमा सहभागी गराउने विचार छ,’उनले भनिन्
‘अब म मात्र दौडिने हैन । नयाँ खेलाडीहरुलाई दौडाउने र अवसर सिर्जना गर्ने मेरो ठूलो सपना छ । अल्ट्रा म्याराथनलाई देशैभर प्रचार गर्ने तयारी गर्दैछु ।’
यसअघि विश्वका विभिन्न स्थानमा ट्रेल रनिङमा प्रतिस्पर्धा गरेकी राई सन् २०१६ मा नेसनल जोग्राफीले प्रदान गर्ने ‘एड्भेञ्चर अफ दी इयर’ घोषित समेत भएकी थिइन् । साहसिक खेलबाट नेपाललाई विश्वसामु चिनाउन उनी सफल भएकी छिन् ।
अल्ट्रा धाविका राई तत्कालीन द्वन्द्वकालताका सशस्त्र माओवादी लडाकु थिइन् ।
शान्ति प्रक्रिया शुरु भएपछि अयोग्य लडाकु घोषित भएपछि उनको पाइला खेलकूदतिर मोडिएको थियो । साहसिक खेल विधामा पर्ने अल्ट्रा रनमा उनले नेपालको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न देशमा आयोजित प्रतियोगितामा भाग लिँदै पुरस्कार जितेकी छिन् ।
ट्रेल रनिङ र स्काई रनिङमा मीरा विश्वमै चर्चित छिन् । उनले विभिन्न रनिङमा प्रथम स्थानसमेत हासिल गरेकी छिन् ।
राईले २०१५ फ्रान्समा भएको एकल माउण्ट ब्लान्क अल्ट्रा म्याराथनमा स्वर्ण पदक, २०१५ मा हङकङमा भएको स्काई रनिङ एशियन च्याम्पियनसिपमा स्वर्ण पदक, २०१७ मा बेलायतमा सम्पन्न बेन नेभिस अल्ट्रा दौडमा स्वर्णलगायत दर्जनौँ पदक जित्न सफल भइसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया