काठमाडौं । अहिलेको बजारले लोकगायक दुर्गा रायमाझीको चित्त खासै बुझाउन सकेको छैन । चाहे त्यो लोक संगीतको होस्, चाहे दशैँको ।कुनै बेला स्तरीय लोकगीत बजारमा ल्याउनेमा दुर्गा रायमाझीको नाम पनि सूचीमा अट्ने गथ्र्यो ।
भर्खरै मात्रउनले दशैँसँग सम्बन्धित गीत बजारमा ल्याएका रायमाझी ब्याक टु ब्याक गीत सार्वजनिक गर्नमा त्यति सक्रिय देखिएका छैनन् । भर्खरै सार्वजनिक गरिएको गीतमा भने वैदेशिक विषयलाई उठान गरिएको छ । पाल्पाका दुर्गा रायमाझीको बसाइ पछिल्लो समय काठमाडौंमै हुनथालेको छ कामका कारण । कर्मथलोले उनलाई जन्मथलो भन्दा अलिक पर लगेर बसाइ दिएको पनि यसपटक भने उनीदशैँ मनाउन जन्मघर पाल्पामा रहनेछन् ।
‘यसपटक चाहिँदशैँ मनाउन गाउँ नै जाने भइयो, घर जान नपाएको पनि धेरै भएको थियो, दशैँको बेला त हो पुराना साथी र आफन्त भेट्न पाइने’, रायमाझीले भने, ‘हाम्रो पालामा पिङ हाल्ने, सोरठी नाच्ने चलन थियो, अहिले अलिक खस्केको छ ।’
बाल्यकालको जस्तो दशैँ चाहिँ अहिले छैन । दुर्गा रायमाझीको गाउँमा मगर समुदायको सङ्ख्या बढी छ । त्यसैले पनि उनी पहिलेदेखि नै गाउँमै पाठशाला जस्तो मगर समुदायमा हुर्के । संस्कृतिमय वातावरण थियो गाउँमा ।
‘बच्चामा दशैँको छुट्टै महसुस हुन्थ्यो, हाम्रो घरतिर सधै बिहानमा एक भारी घाँस काट्नुपर्छ, दशैँको दिनका लागि पहिले नै तीनभारी घाँस काट्ने गथ्र्यौँ’, रायमाझीले आफ्नो केटाकेटी बेलाको दशैँ सम्झँदै सुनाए, ‘खाने कुरादेखि लिएर सेलरोटी गोजीमा कोच्दै हिँड्ने गथ्र्यौँ, गाउँमा आफ्नोपन थियो, अहिले त्यो मासिँदै गएको छ ।’
अहिले दशैँमा घर जाँदा पहिले जस्तो मोही पाइँदैन । गाउँतिर पनि बजारबाटै कोक, स्प्राइट किनेर लगिएको हुन्छ । पाहुनालाई त्यही दिइन्छ । रायमाझीले भने, ‘पहिले हामीले सेलरोटीको चिल्लोले नयाँ कपडा बिगारेजस्तो अहिले कहाँ छ र?अहिले त दशैँ पनि फेरिँदै गएको छ ।’
उनको बुझाइमा अहिले दशैँ फेसन जस्तो भयो । अरुलाई देखाउने संस्कार बस्यो । नेपाली मौलिक कुरा हराउँदै गयो । बजारले निर्धारण गरेको, विज्ञापन गरेको बजार र सांस्कृतिक फेरबदलले गर्दा दशैँको मौलिकता फेरिँदै गएको छ । अहिले दशैँकै गीतगाउने पनिहजारौँ हुन्छन्, पहिले चाहिँ दशैँमा स्तरीय गीत गाउने सीमितहुन्थे ।
त्यसो त दुर्गा रायमाझीको पनि अहिले दशैँ औपचारिकता जस्तै बनेको छ । समयसँगै व्यस्तता बढेपछि दशैँको क्रेज पनि घट्दै गएको छ उनमा । रमाइलो हुने भनेको त खासमा केटाकेटीलाई रहेछ भन्छन् रायमाझी ।
‘दशैँ एउटा ऐतिहासिक पर्व नै हो, गाउँघरमा साथीभाइ भेट हुन्छन्, मेरोतास खेल्ने चलन त छैन, तर परिवार र आफन्तसँग भेटघाट र गफगाफचाहिँ हुन्छ ।’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया