न्यू डायमण्डको न्वारन गर्ने पुरोहित प्रशिक्षक कुमार राई भन्छन्, “उमेर हैन खेलमा दम चाहिन्छ”

काठमाडौं ।
‘काँडारुपी जीवनका बीचमा फूलेका मगमगाउँदा फूल’ यी शब्द ठ्याक्कै कुमार राईको जीवनसँग मिल्दोजुल्दो छ । 

संखुवासभाको मालपासेमा जन्मिएका कुमार र भलिबलबीचको सम्बन्ध निक्कै गाढा छ । उनले बाल्यकालमा भने भलिबलको अनुभव गर्न पाएनन् । बुबा ब्रिटिस आर्मी भएकाले खासै आर्थिक संकट नभोगेका उनले बाल्यकालमा कागज र मोजाको बल खेलेरै भलिबलको खेल कौशल सिके । सानोमा अधिकांस समय खेत, जंगल र घाँसदाउरा गरेर बिताएका उनको एउटै मात्र उद्देश्य थियो, जुन सुकै मूल्यमा पनि भलिबल खेल्ने । 

बिहानदेखि बेलुकासम्म दैनिक खेत, जंगल र घाँसदाउराको दिनचर्यादेखि दिक्क भएका उनले यी सबैबाट छुटकारा पाउन स्कुलमा भर्ना भए । उनी स्कुलमा भर्ना त भए, तर पढ्नका लागि चाहि होइन् ।

उनी सम्झिन्छन्, ‘‘सबै जनाहरु स्कुलमा पढ्नको लागि जान्थे, तर म चाही घरको कामबाट छुट्कारा पाउन स्कुल गए, स्कुलमा साथीहरुसँग मज्जाले खेल्न पाउथेँ, त्यसमा पनि भलिबल खेल्ने पाउने भएकोले पनि म स्कुल जान निक्कै उत्साहित हुन्थेँ ।’’

साथै, उनले ६ कक्षा पढ्दा मात्र उनले भलिबल पहिलो पटक छोएको बताए । ‘‘थोत्रो मोजा भित्र कागज हालेर बल बनाउथँे, मेरो मस्तिष्कमा भलिबलको मोहले विजारोपन गरिसकेको थियो, गाँउका दाइहरुले खेल जस्तै मोजाको बल खेलेर मेरो भलिबल यात्रा शुरु भएको हो ।’’ उनले लोकपथलाई बताए । 

यसरी भएको थियो, न्यू डायमण्डको न्वारन

वि.स. २०६२ सालमा न्यू डायमण्ड एकाडेमीको स्थापना भएको हो । नेपाली खेलकुद इतिहासमा पहिलो पटक स्कुल हुँदै क्लबमा परिवर्तन भएको न्यू डायमण्ड एक मात्र राष्ट्रिय स्तरको महिला भलिबल टिम हो । स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिदँै अन्तर्राष्ट्रियस्तरको खेलाडीको उत्पादन गर्नु नै न्यू डायमण्ड को मुख्य उद्देश्य हो । स्कुलको स्थापना गरेको २ वर्ष नै नबित्दै न्युडाइमण्ड स्कुल क्लबमा पनि परिवर्तन भयो । वि.स २०६९ मा न्यू डायमण्डले राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने मान्यता प्राप्त ग-यो । त्यसयता न्यू डायमण्ड ले लगातार राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेको छ । न्युडाइमण्डले पहिलो पटक नेपाल एनभिए कप महिला भलिबल लिगमा खेलेको थियो । त्यतिबेला न्यू डायमण्ड ले खेलको पहिलो प्रतियोगितामा नै सफलता हात पा-यो । वि.स २०६९ सालमा भएको सो प्रतियोगितामा न्यू डायमण्डले पहिलो स्थान हात पार्दै १ लाख ५० हजार रुपैयाँको पुरस्कार पनि हात पारेको थियो । 

उत्पादन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी 

न्यू डायमण्ड एकेडेमीले ६ वर्षमा चार जना प्रतिभाशाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेका छन् । स्कुल लेभलबाटै खेलाडीहरुको छनोट गर्दै उत्कृष्ट प्रशिक्षण दिदै नयाँ खेलाडी उत्पादन गर्ने क्लबहरु मध्ये न्यू डायमण्ड  एकाडेमी अग्र स्थानमा छन् । यस एकाडेमीबाट रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली र कृपा अधिकारी जस्ता प्रतिभाशाली खेलाडीहरुको उत्पादन गरिसकेका छन् । यी चार जना खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै थुपै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल खेलिसकेका छन् । 

‘‘ न्यू डायमण्डबाट नयाँ खेलाडी उत्पादन गर्ने क्रम अहिले पनि जारी छ, हामीहरु सानै उमेरदेखि नै खेलाडीहरुको चयन गरेर प्रशिक्षण दिइहाल्छौँ, हाम्रै विद्यालयमा पढ्ने बालिकाहरु मध्ये अलि हाइट भएकाले पहिलो प्राथमिकतामा राख्छौँ । ४ कक्षादेखि नै खेलाडीहरुलाई खेल्न सक्ने हामीले बनाइसकेका हुन्छौँ’’ प्रशिक्षक राईले लोकपथलाई बताए । 

साथै, उनले ७ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई माथिल्लो लेभलको खेल खेल्न सक्षम बनाउने पनि जानकारी दिए । 

‘‘हरेक कक्षाबाट २, ३ जना खेलाडीहरुलाई छनोट गछौँ, त्यहिबाट नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्दै जान्छौँ, हरेक वर्ष नयाँ खेलाडीलाई जन्माउनु हाम्रो लक्ष्य नै छ, त्यहि अनुरुप यो वर्षपनि हामी २ जना उत्कृष्ट खेलाडी जन्माउँछौँ’’ उनले थपे ।  

रमिला तण्डुकारको सधै अभाव

रमिला तण्डुकार नाम चलेका महिला खेलाडीहरु मध्ये एक हुन् । सानो उमेरकी खेलाडी तर अरु खेलाडीहरु भन्दा अग्ली । त्यसैले न्यू डायमण्डबाट भलिबल खेल्ने उनीमात्र एक्ली तर पावरफुल खेलाडी थिइन् । रमिला कै कप्तानीमा न्यू डायमण्ड ले १२ वटा च्याम्पियनसिपको उपाधि जितेको थियो । राष्ट्रिय प्रतियोगिता खेल्दा न्यू डायमण्ड मा अरु टिमका खेलाडीहरु भन्दा निक्कै सानो उमेरका खेलाडीहरु हुन्थे । पोखराका मन्जु गुरुङ, सिपोरा गुरुङ, अरुणा शाही तथा पुलिसकी कोपिला उप्रेती लगायतका केही खेलाडीको तुलनामा न्यू डायमण्डका  खेलाडीहरु ‘दुधे बालक’ जस्तै देखिन्थ्यो । तर, तिनै साना खेलाडीहरुले सिनीयर खेलाडीहरुदाई कडा टक्कर दिदा दर्शक दिघाबाट न्यू डायमण्डले  वाहवाही पाउथ्यो । अहिले रमिला पारिवारिक कारणले अमेरिकामा छिन् । ‘‘रमिला हाम्रो टिमको एक्लो तथा भरपर्दा खेलाडी थिइन्, उनी ओपन स्पाइकर भएकोले पनि विपक्षी टिमसँग सहजै हावी हुन् सक्थिन्, मलाई लाग्छ रमिलाको स्थान तोड्न सक्ने नेपालमा खेलाडीको जन्म भइसकेको छैन ।’’ राईले बताए । 

‘‘हामीले नै उत्पादन गरेको रेश्मा भण्डारी अहिले विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ टिममा आवद्ध छिन्, यहि महिनामा सम्पन्न भएको अलआवादी एनभिनए कपमा रेश्मा आफुनै पुरानो क्लबविरुद्ध खेल खेल्दा अप्ठ्यारो भएको मैले पनि अनुभव गरेको थिए । जुन क्लबबाट जन्मिए, उनी क्लबविरुद्ध खेल्दा पक्कै पनि नराम्रो त लागिहाल्छ नि ?’’ उनले थपे ।

न्यू डायमण्डबाटै उत्पादित झरणा श्रेष्ठ, बालमिका आचार्य लगायतका खेलाडीहरुलाई रमिला र प्रतिभाको स्थान ल्याउन सक्ने बनाउने तयारी भइरहेको पनि प्रशिक्षक राईले जानकारी दिए । 

राईको सरकारप्रति गुनासो 

न्यू डायमण्डका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले उमेर समूहका खेलाडीहरु प्रति ध्यान जान नसकेकोमा गुनासो पोखेका छन् । 

साथै, उनले उमेर समूहका खेलाडीहरुलाई लक्षित गर्दै उत्कृष्ट कार्यक्रम र प्रतियोगिता सञ्चानल गर्न नसकेकोमा दुःख लागेको बताए । 

उनी भन्छन्, ‘‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले उमेर समूहको खेलाडीहरुलाई ध्यानै दिन सकेको छैन । खेलाडीको उत्पादन भनेको नै विद्यालय हो, यहिबाट नै हामीले भविष्यमा प्रतिभाशाली कुशल खेलाडी जन्माउन सक्छौँ, राम्रो पुरस्कार राशीसहितको उमेर समूहको खेलाडीको प्रतियोगिता आयोजना गर्न सके खेलाडीहरुको मनोवल बढ्नुका साथै खेलकुदमा लाग्न हैसला समेत मिल्नेछ’’ 

‘‘भलिबलमा १७ औँ शताब्दीको नियम भलिबलमा अहिले पनि लागु हुँदै आइरहेको छ, सबैभन्दा पहिले निती नियमलाई बदल्न युवा तथा खेलकुद मन्त्रायल र राष्ट्रिय खेलकुद परिषद् लागु पर्नु पर्ने देखिएको छ । सम्बन्धित निकायहरुले स्कुल र उमेर समूहका खेलाडीहरुलाई लक्षित गर्दै ‘ग्रास रुट लेभल’ चाँडै सञ्चालन गर्नु पर्ने देखिएको छ ।’’ उनले लोकपथलाई बताए । 

न्युडाइमण्डले खुल्ला महिला प्रतियोगिताको लगातार तेस्रो पटक जित्दै उपाधिमा ह्याट्रिक समेत गरेको थियो । वि.स. २०७० देखि ७४ सम्म लगातार यो प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको थियो । तर, २०७५ मा भएको यहि प्रतियोगितामा भने न्युडाइमण्डले उपविजेतामा चित्त बुझाएको थियो । उमेर समूहको खेलाडीहरु भरिएको न्यू डायमण्डले साना खेलाडीहरुको भरमा सिनीयर खेलाडीहरुलाई टक्कर दिदै उपाधि जितेको यो उदाहरण मात्र हो ।

त्यसपछि पनि न्यू डायमण्डले तेस्रो महिला ‘एनभिए’ कप उपाधिसँगै कैयौँ राष्ट्रिय प्रतियोगितामा सफलता हात पारिसकेको छ । त्यसैले उमेर समूहका खेलाडी तथा देशलाई निस्वार्थ राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान दिने कुमार राई जस्ता प्रशिक्षकको मनोबल गिर्न नदिन नेपाल सरकार, खेलकुद परिषद् लगायत सम्बन्धित निकायको यसतर्फ बेलैमा ध्यान जान जुरुरी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?