आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन सक्दैन : पूर्वगभर्नर नेपाल

लोकपथ
21
Shares

काठमाडौं । निर्वाचनका समयमा हुने आर्थिक गतिविधिहरुले मुलुकको अर्थतन्त्रमा समेत २ प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । विगतमा नेपालमा पनि निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ । निर्वाचनको बेलामा राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन जित्नको लागि आत्याधिक खर्चिने गर्दछन् । निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ ।

निर्वाचनको समयमा आर्थिक गतिविधि बढी चलायमान हुने भएकाले अर्थतन्त्र पनि सोही अनुसार चलायमान बन्ने आँकलन गरिन्छ । तर, आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका समयमा मुलुकको अर्थतन्त्र सुस्तगतिमा अगाडि बढीरहेको छ भने बजारले एक वर्षदेखि तरलता अभाव झेलिरहेकाले पनि मुलुकको अर्थतन्त्र निर्वाचनका कारण खासै सुधार नहुने विज्ञहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जीवि नेपालले आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनले मुलुकको अर्थतन्त्रमा सुधार नहुने बताए ।

उनले विगतका निर्वाचनमा भएका आर्थिक गतिविधिले अर्थतन्त्र चलायमान बनाउने गरेको बताए । पूर्वगभर्नर डाक्टर नेपालले नेपालमा आगामी मंसिर ४ गते हुने निर्वाचनले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने अवस्था नभएको दाबी गरे । उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा मंगलवार एक वर्षदेखि बजारमा देखिएको तरलता अभाव सहजता हुने आँकलन गरिएपनि आगामी निर्वाचनमा बजारमा देखिएको तरलता सहज हुने अवस्था नभएको बताए ।

उनले बजारमा अत्याधिक तरलताको अभाव, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु रोकिने,पूरा हुने आयोजनाहरु पूरा नहुने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले अर्थतन्त्रमा सुधार ल्याउने अवस्था नभएको बताए । पूर्वगभर्नर नेपालले आगामी निर्वाचनले बजारको तरलता अभावसमेत तत्कालै समधान गर्न नसक्ने उल्लेख गरे । उनले यस पटकको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा अघिल्लो निर्वाचनमा जस्तो आर्थिक गतिविधि बढ्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

पूर्वगभर्नर नेपालले बैंकहरुमा संकलन भएको निक्षेप संस्था,व्यक्तिहरुले दलगत उम्मेदवारहरुलाई चन्दा दिनको लागि बैंकहरुबाट निकाल्ने बताए । डा. नेपालले बैंकहरुको निक्षेपमा राखिएको पैसासमेत बाहिर जाने भएकाले निर्वाचनको समयमा राष्ट्र बैंकलाई तरलतालाई स्थिर राख्न समस्या हुने पनि बताए । उनले राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नका लागि बैंकहरुको सिडी रेसियोमा केही लचकता अपनाउन सुझाव दिए । डा. नेपालले राष्ट्र बैंकले सिडी रेसियोमा लचकता अपनाएर उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन बैंकहरुमा तरलता सहजता बनाउन सुझाव दिए । उनले बजारमा तरलता अभाव देखिने बित्तिकै अनौपचारिक क्षेत्रमा खर्च बढ्ने डर रहेको बताएका हुन् ।

पूर्वगभर्नर नेपालले अनौपचारिक क्षेत्र फस्टाउँदा देशको अर्थतन्त्र कता जान्छ भन्ने थाहा पाउन गाह्रो हुने बताएका छन् । उद्योग व्यवसाय पनि चलायमान र आर्थिक गतिविधि पनि बन्द नहुने गरी उत्पादनमुलक क्षेत्रमा आवश्यक पर्ने ऋण लगानी गर्ने वातावरण राष्ट्र बैंकले मिलाउनुपर्ने बताएका नेपालले अहिलेको निर्वाचनको बेला राष्ट्र बैंकले गर्ने भनेकै सिडी रेसियोमा लचकता अपनाएर उत्पादन क्षेत्रमा धेरै पैसा जाने वातावरण बनाएको दाबी गरे ।

पूर्वगभर्नर नेपालले मौद्रिक नीतिमार्फत कर्जा बिस्तार १२ दशमलव ५ बनाएर कर्जा बिस्तार नगन्य बनाएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा बिस्तार १२ प्रतिशत बनाएकाले अर्थतन्त्र ठप्प जस्तै भएको बताएका हुन् । नेपालले सरकारले निर्वाचन भन्दा अगाडि खर्च गर्नुपर्ने पुँजीगत खर्च गरेर तरलता व्यवस्थापन गर्नुपर्ने सुझाएका छन् । उनले निर्वाचनको समयमा कालोधन आउनसक्ने सम्भावना प्रशस्त रहेको बताए । उनले कालोधन बैंक तथा वित्तीय संस्थाहरुमा भने नआउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?