काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले पछिल्लो एक बर्षभित्रमा ४१ अर्ब ८५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको साउन मसान्तको तुलनामा चालु आर्थिक वर्षको साउन मसान्तमा बैंकिङ क्षेत्रले उक्त परिमाणमा चुक्ता पुँजी बढाएको हो ।
सो अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनीहरुले कुल चार खर्ब सात अर्ब ७८ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकिङ क्षेत्रको यस्तो चुक्ता पुँजी तीन खर्ब ६५ अर्ब ९३ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी चालु आर्थिक वर्षको पछिल्लो अवधिमा तीन खर्ब ५६ अर्ब नौं करोड ५० लाख रुपैंयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ अर्ब ४६ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुको यस्तो चुक्ता पुँजी तीन खर्ब २० अर्ब ६२ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
चालु आवको पछिल्लो अवधिमा विकास बैंकहरुको कुल चुक्ता पुँजी भने ३६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ पुगेको छ । विकास बैंकहरुको यो चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चार अर्ब ७६ करोड २० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा भने विकास बैंकहरुको यस्तो चुक्ता पुँजी ३२ अर्ब २३ करोड २० लाख रुपैयाँ रहेको थियो ।
यसैगरी, फाईनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी पनि पछिल्लो अवधिमा एक अर्ब ६२ करोड ४० लाख रुपैयाँले बढेको छ । सो अनुसार गत आर्थिक वर्षको साउन मसान्तसम्ममा १३ अर्ब सात करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाईनान्स कम्पनीहरुको चुक्ता पुँजी चालु आर्थिक वर्षको पछिल्लो अवधिमा बढेर १४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
यस्तो छ बैंकिङ क्षेत्रको पछिल्लो दुई बर्षमा कायम रहेको चुक्ता पुँजी ( रकम रु १० लाखमा) :-
बिवरण २०७९ साउन मसान्त २०७८ साउन मसान्त फरक
वाणिज्य बैंक ३५६०९५ ३२०६२९ ३५४६६
विकास बैंक ३६९९४ ३२२३२ ४७६२
फाईनान्स १४७०० १३०७६ १६२४
(श्रोत नेपाल राष्ट्र बैंक)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया