काठमाडौँ । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै उनी सानैदेखि जुनकुनै कुरामा औधी लगाव राख्थे । जे गर्थे शतप्रतिशत मन दिएर गर्थे ।
त्यसैले आज उनी सन्दीप लामिछाने बने । धेरैलाई उनको बहुआयामको बारेमा थाहा नै छैन । बहु प्रतिभाको धनी व्यक्ति हुन् उनी । पिचमा उत्कृष्ट ब्याटिङ र बलिङ गर्नु त छँदैछ, उनीसँग सुन्दर गला र कला पनि छ । सन्दिपले हालै मात्र ‘प्रतिक्षा’ एल्बममा समावेश ‘उदास थियो’ बोलको गित समेत बजार ल्याइसकेका छन् ।
पछिल्लो समय यो नाम नेपाली खेलकुद जगतमा जसरी चम्केको छ त्यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उदीयमान तारा बनेर गुन्जिएको छ । सिधा अर्थमा अब उनको परिचय निकै फराकिलो भएको छ ।
उमेर समूहबाट नेपाली क्रिकेटमा चम्केका सन्दीपले भारतकै चर्चित लिग इन्डियन प्रिमियर लिग ‘आइपिएल’ खेलेसँगै उनी एकाएक चम्किए । दिल्ली डेयरडेभियल्सबाट व्यवसायिक क्लब खेल खेलेका लामिछानले विश्वका चर्चित खेलाडीहरुसामु नेपाली खेलाडी पनि उत्कृष्ट खेल्न सक्छन् भन्ने विश्वलाई नै देखाउन सफल भए । उनले दिल्ली डेयरडेभियल्सबाट मात्र ३ खेलेपनि उत्कृष्ट खेल कौशल प्रस्तुत गरे ।
स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीपको खेल जीवनको यात्रा भने चितवनको क्याम्पाचौरबाट शुरु भएको थियो । उनी चितवनमा हुँदा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान राजु खड्काबाट प्रशिक्षण लिएका थिए ।
पहिलो पटक अन्डर नाइन्टिनका लागि ट्रायल दिँदा असफल भएका खेलाडी हुन्, सन्दीप ।
‘‘पहिलो पटक ट्रायल दिँदा टिममा पर्न सफल भएको थिएन । त्यतिबेला म निक्कै दुःखी थिएँ, तर, त्यति बेला अन्डर—१९ टिममा सेलेक्सन नहुँदाको इख मनमा नै राखँे, मैले त्यसअनुरुप आफैलाई निखार्दै लगे, नियमित कडा रुपमा ट्रेनिङ गरे र अर्को वर्ष पुन ट्रायल दिए, त्यतिबेला तत्कालिन प्रशिक्षकले मलाई सिधै राष्ट्रिय टिमको क्याम्पमा बोलाएका थिए ।’’ उनले प्रशन झर्न नपाउँदै बताएहाले ।
पहिलो पटक आइपिएलमा : फुच्चे केटाले जित्ला ?
सन् २०१६ मा पहिलो पटक फुच्चे केटाले राष्ट्रिय टिममा डेब्यु गर्दा सबैजना चकित थिए । त्यतिबेला सन्दीप मात्र १६ वर्षको थिए । तर त्यहि फुच्चे केटाले नेपाली क्रिकेटको इतिहासमा नै स्वर्णिम अक्षरले नाम लेख्लान् भन्ने कसैले सोचेको पनि थिएनन् । उनी आइपिएलमा व्यवसायिक क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बन्न सफल भए ।
छोटो समयमा नै एकाएक राष्ट्रिय टोलीको अभिन्न अंग बनेको उनी यू—१९ टिमको कप्तान बने । उनले हङकङ ब्लिट्जजस्तो व्यावसायकि प्रतियोगिता खेल्ने पनि सफल भए ।
हङकङमा खेल्दा अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कजस्ता केही खेलाडीको नजरमा उनी परेपछि अष्ट्रेलिया गए । अस्ट्रेलियामा उनले ए ग्रेडको प्रतियोगिता खेले र विश्वकै ठूलो व्यवसायीक क्रिकेट प्रतियोगिता मानिने आईपीएलमा समेत खेल्ने अवसर प्राप्त गरे ।
यु—१९ विश्वकपमा उनले आयरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिन सफल भए, उमेर समूहमा पाँच जना क्रिकेटरले मात्र यो सफलता हात पारेका थिए ।
नेपाली शेन वार्नको उपनामले पनि उनी अहिले विश्व क्रिकेटमा परिचित छन् । उनको खेलबाट माइकल क्लार्क मात्र होइन आइपिएलका प्रशिक्षक रिक्की पोन्टिङ पनि प्रभावित भएका थिए ।
उनले भने “आईपिएल लिग क्रिकेट खेल्न पाउनु नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो, मैले आइपिएलबाट धेरै कुराहरु सिक्ने मौका पाएँ ।’’
उनले आइपिएल पछि क्यानेडियन लिग, वेस्ट इन्डिजमा भएको क्यारेवियन प्रिमियर लिग ‘सीपीएल’, अफगानिस्तान प्रिमियर लिग ‘एपीएल’ तथा केरलाबाट खेल खेलिसकेका छन् ।
खेलेरै करोडपति बनेका
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेट इतिहासमा सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडीको सुचिमा पहिलो स्थानमा रहेका छन् । उनी क्रिकेट खेलेरै करोडपति बनिसकेका छन् । इंन्डियन प्रिमियर लिग ‘आइपीएल’मा खेलेबापत दिल्ली डेयरडेभियल्सबाट उनले ३२ लाख नेपाली रुपैयाँ पारिश्रमिक लिएका थिए ।
त्यस्तै, ग्लोबल टी–२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात् नेपाली ४३ लाख २० हजार रुपैयाँ लिए । क्यारेवियन प्रिमियर लिग ‘सीपीएल’मा ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक लिए । साथै सन्दिपले अफगानिस्तान प्रिमियर लिग ‘एपीएल’बाट १५ हजार अमेरिकी डलर तथा केरलाबाट ३० हजार अमेरिकी डलर लिएका थिए । उनले विभिन्न कम्पनीको ब्रान्ड एम्बेस्डरबाट एक करोड भन्दा बढी रकम पनि कमाएका छन् । यो भन्दा धेरै उनले फ्यान कमाएका छन् । प्रशंसक कमाएका छन् । आफूलाई अदृश्य रुपमा हौसला प्रदान गर्ने ती मनहरु कमाएका छन् ।
सन्दिपले बनाए नयाँ कीर्तिमान
जारी आइसीसी टी–२० एशिया क्वालिफायर खेलका दौरान नेपालका सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् ।
नेपाली बलर लामिछानेले जारी एशिया क्वालिफायर खेल अन्तर्गत सिंगापुरविरुद्धको खेलमा ४ विकेट लिएपछि बसन्त रेग्मी र विनोद दाशको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोड्न सफल भएका हुन् । सन्दिपले उमेर समुहको एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नयाँ रेकर्ड बनाएका हुन् ।
उनले गत बर्ष जुलाईमा सिंगापुरमा भएको यु—१९ विश्वक क्वालिफायरमा ६ खेलमा २४ विकेट लिदैं किर्तिमान बनाएका थिए । त्यस्तै सिनियर टिममा भने बसन्त रेग्मी र विनोद दाशले एकै प्रतियोगितामा सर्वा्धिक विकेट लिने कीर्तिमान बनाएका थिए ।
सन् २०१२ को डिभिजन ‘फो’मा तथा विनोदले सन् २००५ सम्पन्न एसीसी फास्ट ट्रयाक कन्ट्रीज च्याम्पियनसीपमा २१ विकेट लिर्दैं सो रेकर्ड बनाएका थिए ।
जसमा सन्दिपले ६ खेलमा २२ विकेट लिदै किर्तीमान बराबरी गरेका छन । सिंगापुर विरूद्ध उनले एक विकेट लिएसँगै विनोद र बसन्तको रेकर्ड तोडेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया