काठमाडौं–६ मा भिमसेनलाई सर्वेन्द्रको टक्कर !

निर्वाचन विशेष

काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ६ मा यसपाली रोचक प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट लामोसमय चुनावी प्रतिस्पर्धामा होमिँदै आएका भीमसेनदास प्रधान र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सुर्वेन्द्र खनाल आमने–सामने भएका छन् ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गर्दै विजयी भएका प्रधान यसपाली आफ्नो जीत दोहोर्याउने ध्याउन्नमा छन् । यता एमालेबाट उम्मेदवार बनेका खनाल भने प्रधानको जीतको शृंखलालाई रोक्ने रणनीतिमा छन् ।

काठमाडौं–६ भित्र काठमाडौं महानगरको वडा नं २६, २७ र २८ टोखा नगरपालिकाको १, ८, ९, १० र ११ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ९,१० र ११ नं वडा पर्छन् । काठमाडौंको कोर सिटीको केही भाग र काँठका धेरै भाग मिलेर बनेका कारण यो क्षेत्रको मत परिणाम पनि मिश्रित आउन सक्ने धेरैको आँकलन छ ।

यद्यपि, मतदाता रिझाउन यतिबेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु घरदैलोमा जुटिसकेका छन् । यो क्षेत्रमा मूख्य प्रतिस्पर्धी प्रधान र खनालसहित २४ जनाको उम्मेदवारी परेको छ । जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुप्रसाद आचार्य, विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रमा ०६४ सालको निर्वाचनमा नेकपा माओवादीको दबदबा रह्यो । ०७० र ०७४ को निर्वाचन भने नेपाली कांग्रेसले जित निकाल्यो । ०६४ र ०७० को संविधान सभा सदस्य निर्वाचनमा एमालेले योगेश भट्राईलाई टिकट दिएपनि उनले जित निकाल्न सकेनन् ।

दुवैपटक चुनाव हारेपछि योगेश काठमाडौं छाडेर ०७४ को निर्वाचन लड्न गृह जिल्ला ताप्लेजुङ उक्लिए । पटक–पटक पराजित एमालेका लागि काठमाडौं–६ मा यसपाली खनालले जीत निकाल्लान् रु त्यो भने हेर्न बाँकी छ ।

तर, खनालका प्रतिस्पर्धी प्रधान भने यहीँको बासिन्दा भएकाले पनि उनलाई थप सहज हुने देखिन्छ । ०७४ को निर्वाचनमा बाम गठबन्धनको भारी रहँदा समेत नथाकेका प्रधानलाई यसपाली गठबन्धनको समेत साथ छ । त्यसैले प्रधानलाई ०७४ को भन्दा थप सहज हुने धेरैको आँकलन छ । यद्यपि, पार्टीभित्र टिकट बाँडफाँटमा असुन्तुष्टि र यस क्षेत्रमा परेको स्वतन्त्र उम्मेदवारहरुले प्रधानलाई गाह्रो पर्ने देखिन्छ ।

साथै, प्रहरी संगठनमा रहँदा चर्चा र अवकाशपछि विवादमा छाएका खनाल पनि काठमाडौंमा परिचित अनुहार नै हो । केही समयअघिमात्र एमाले प्रवेश गरेका खनालमाथि संगठनबाट अलग्गिएसँगै सांसद अपहरणको साक्षी बनेको आरोप लाग्यो । जसलाई गठबन्धनले चुनावी मसला बनाइरहेको छ ।

स्थानीय चुनावको मतले के भन्छ ?

काठमाडौं क्षेत्र नं ६ मा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा कांग्रेस धेरै अघि छ ।
कांग्रेसका वडाध्यक्षहरुले १७ हजार २ सय ७७ मत प्राप्त गरेका थिए । भने, यता नेकपा एमालेका वडाध्यक्षले १४ हजार ३ सय ३ मत प्राप्त गरेका थिए । यता माओवादी केन्द्रका उम्मेदवारले २ हजार ४ सय ६२ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवारले १ हजार ८ सय ५९ मत प्राप्त गरेका थिए । त्यस्तै, राप्रपाका उम्मेदवारले पाएको मत १ हजार १६ थियो ।

भीमसेन र सर्वेन्द्रमध्ये कसको प्रभाव कस्तो ?

नेपाली कांग्रेसभित्रका वौद्धिक नेताका रुपमा परिचित भीमसेनदास सो क्षेत्रका लागि रैथाने व्यक्ति हुन् । निरन्तर चुनाव जितेर मन्त्री समेत बनेका प्रधानले यसअघि गरेका काम र आगामी योजनासहित चुनावी मैदानमा जानेछन् ।

खासै धेरै विवाद र उल्का चर्चामा पनि नरहेका प्रधान आगामी निर्वाचनको पासा पनि पल्टाउने तयारीस्वरुप निर्वाचनमा छन् ।

यता उनका मुख्य प्रतिष्पर्धी खनाल भने त्यो क्षेत्र र निर्वाचनका लागि नयाँ हुन् । गृह जिल्ला तनहुँ रहेका खनाललाई केही चुनौतीहरु भने देखिन्छ । एकातिर टुरिष्ट उम्मेदवारको ट्याग लाग्नेछ भने अर्कोतिर एमाले विभाजनको प्रभाव पर्नेछ ।

लामो समय प्रहरी सेवाको अनुसन्धानबाट खारिएको उनको दिमागले क्षेत्र नं ६ का मतदातालाई मन जित्ने कोशिश भने पक्कै गर्नेछन् । सुशासनलाई मुख्य मुद्दा बनाउँदै आएका उनले यसअघिको निर्वाचनका प्रतिनिधिहरुको कमजोरीसहित आफूलाई अब्बल बनाउने कोशिश भने पक्कै गर्नेछन् ।

यद्यपि, स्थानीय निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालको अप्रत्याशित जितलाई हेर्ने हो भने परिणम कस्तो आउला भनेर आँकलन गर्न गाह्रो छ । त्यसका लागि मंसिर ४ पछिको मतपरिणाम नै कुर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?