आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा देश होमिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार चुनावी मैदानमा खडा गरिसकेका छन् । तिनै उम्मेदवारहरु यतिबेला जनता रिझाउन अभ्यस्त छन् ।
हो, यही मेलोमा छन् काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेबाट उम्मेदवार बनेका– श्यामकुमार घिमिरे उर्फ किरण शर्मा पनि । पार्टीभित्र लामो रस्साकस्सीकाबीच टिकट हात पारेका घिमिरेको राजनीतिमा त्याग र समर्पणको गाथा भने गर्विलो छ ।
घिमिरेलाई आफ्नो पोल्टामा जित पार्न नदिन गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएकी मानुषी भट्टराई यमीलाई सानोतिनो कसरतले पुग्ने देखिँदैन । किन भने मानुषी प्रत्यक्ष तर्फको निर्वाचन पहिलो पटक फेस गर्दै छिन् । काठमाडौं क्षेत्र नं ७ मा घिमिरेलाई पुराना खेलाडीका रुपमा चिनिन्छ ।
को हुन् त एमालेका घिमिरे ?
यही भुमरीमा रुमल्लिएका घिमिरे पुराना साम्यवादी नेताका रुपमा चिनिन्छन् । २०१० चैत १३ गते काठमाडौंको तारकेश्वर ३ जीतपुर फेदीमा जेन्मिएका घिमिरे पञ्चायती शासककाविरुद्ध खरो रुपमा उत्रिए । जसले उनलाई राजनीतिमा स्थापित गर्न सहज बनायो ।
पञ्चायती व्यवस्थाको विरुद्धमा आवाज बुलन्ट गर्दा थुप्रैपटक राज्यपक्षको निसानामा परेका घिमिरेले पटक–पटक जेल जीवनसमेत भोगे । २०३६ सालमा एमालेका भातृ संगठन अनुरास्ववियु हुँदै राजनीतिमा होमिएका घिमिरेले शिक्षक संगठन, किसान संगठन, जिफन्ट हुँदै पार्टीको आन्तरिक संगठन निर्माणमा समेत लागिरहे ।
हाल नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्यको जिम्मेवारीमा रहेका उनी यसअघि काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य र काठमाडौं जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ७ को संयोजकको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
यतिबेला जनतामाझ रहेका घिमिरे बढ्दो मूल्यवृद्धिका विरुद्ध सशक्त आवाज बुलन्द गर्न र शिक्षा क्षेत्रलाई पुर्नताजकीका साथ अघि बढाउने आफ्नो मूख्य एजेण्डा रहेको बताउँछन् । साथै, समाज रुपान्तरणमा कोशेढुङ्गाको रुपमा आफू र पार्टी कार्यकर्ताको भूमिका निभाउन, काठमाडौं–७ मा रहेका ऐतिहासिक स्थलहरुको प्रवर्द्धन र संवर्द्धन गर्न, सांगठनिक अराजकता परास्त गर्ने भूमिका निभाउन आफ्नो उम्मेदवारी रहको प्रष्ट पारे । ‘पार्टी र जनप्रतिनिधिको भूमिकामा आएको खाडललाई न्यूनिकरण गर्ने भूमिका खेल्न, पार्टीका नीति र कार्यक्रमहरुलाई संविधानको कसीमा घोटेर आमजनता समक्ष पुर्याउने भूमिका निभाउन,’ घिमिरे एजेण्डा सुनाउँदै थिए, ‘पार्टी कार्यकर्ता र सरकारका कार्यहरुमा सामनजस्यता ल्याउन, पार्टीका अगाडि व्यक्ति केही होइन भन्ने धारणा आमजनमानसमा पुर्याउन, दिगो विकासमा पार्टी पंक्तिलाई परिचालन गर्न, पार्टीको नीति र कार्यक्रमा प्रतिबद्धता जनाउँदै समाजवादको आधार निर्माण गर्न मेरो उम्मेदवारी हो ।’
०४३ को जनपक्षीय उम्मेदवार बनेका घिमिरेले ०७४ को निर्वाचनमा काठमाडौं–७ को चुनाव प्रचारप्रसारको नेतृत्व सम्हाले । सधैं व्यक्ति भन्दा पनि पार्टी जित्नुपर्छ भन्ने ध्येय राखेर हिँड्ने घिमिरे गत स्थानीय निर्वाचनमा तारकेश्वर नगरपालिकाको मेयरका प्रत्यासीसमेत थिए । त्यतिबेला पार्टीबाट टिकट नपाएपनि राजनीतिमा उनको धैर्यताले काम गर्यो । अन्ततः संघिय संसदको ढोका उघार्न उनलाई पार्टीले जिम्मेवारी दियो । तर, जनताले उनलाई त्यसको जिम्मेवारी देलान् कि नदेलान् हेर्न बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया