‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा सारा नेपालीलाई कण्ठस्थ भइसकेको छ । सबै सुखी हुन चाहान्छन्, समृद्ध पनि । तर, ‘सुख’ र ‘समृद्धि’ नेपालीका लागि आकाशको फल भएका छन् । त्यो फललाई पाउने अभिलाषा सबैमा छ । तर, त्यसको प्राप्तिका निमित्त आवश्यक आधारभूत तत्त्वलाई आत्मसाथ गर्ने जाँगर र सक्रियता कमैमा मात्र । यस्ता कर्तव्यविमुख, अल्छी, लापरवाह प्रवृत्ति भएका नागरिकहरुको लहडबाट अलग्गिएका केही मानिसहरुले स्थापना गरेको संस्था हो संस्कार समाज नेपाल ।
‘असल संस्कार सिकौं, सिकाऔं
आफ्नो देश आफै बनाऔं ।
असल संस्कार नै समृद्धिको आधार ।’ नाराका साथ २०७४ साल भदौमा जन्मिएको यस संस्था अन्य सामाजिक संस्था भन्दा केही भिन्न छ । भिन्न यस कारण कि यसको कार्यशैली निश्चित समय र दायरामा सिमित छैन । जो, जहाँ, जति बेला र जसरी पनि स्वतस्फूर्त रुपमा यसको अभियानमा सरिक हुन सक्छन् ।
एउटा नेपाली विदेश जान्छ । आफूलाई त्यहीँको परिवेशमा ढाल्छ, त्यहाँको सबै नीति नियम अवलम्बन गर्छ । फेरि नेपाल फर्किन्छ र आफूले खाँदै गरेको बिस्कुटको खोल फुत्त सडकमा फालेर भन्छ ‘हाम्रो देश खत्तम । समृद्धि खोइ ?’ ।
ठिटाठिटी आकाशे पुललाई ‘इग्नोर’ गर्दै सरासर रोड बाटै बाटो काट्छन् र दुर्घटना हुँदा सरकारलाई दोष दिन्छन् ‘खै बाटो मर्मत गरेको ? थुक्क सरकार !’
सरकारी अफिसमा गएर सेवाग्रही भन्छ ‘नमस्कार हजुर’ । उताबाट कर्मचारी च्याँठिएर नमस्कार नफर्काइ बोल्छ ‘के काम हो भन्नुस् ।’
यी सबै दृश्यलाई मध्यनजर गर्दा हामीमा ‘असल संस्कार’ को कमी भएको प्रष्टै अनुभव गर्न सकिन्छ । नीति नियम अवलम्बन नगर्ने, आफ्नो गल्तीको दोष अरुलाई दिने, पैसा र पावरको रवाफ, व्यक्तिगत स्वार्थबाट लुप्त आचरण, मनभित्र खात लागेका तीक्तता र बैरभाव सबैलाई त्यागेर आफूमा असल संस्कार स्थापना गर्नुपर्छ भन्ने भावना जगाउने र अरुको मनमा पनि जगाइदिने उद्देश्यका साथ संस्कार समाज नेपालको स्थापना भयो ।
संस्थाकी संस्थापक अध्यक्ष पशुपति गुरुङ भन्छिन्, ‘समृद्धिको चाहना राख्ने अनि संस्कार चाहिँ शून्य ? सडकको फोहोर होइन मान्छेको दिमागको फोहोर सफा गर्न आवश्यक छ ।’ उनी भन्छिनन्, “संस्कार समाजको मूख्य उद्देश्य पनि यही हो । गल्ती गरेपछि सुधार्ने भन्दा पनि गल्ती नै नगर्न उत्प्रेरित गर्ने ।”
जापान, कोरिया एसियाली मुलुक भएपनि विकास र उन्नतिको हिसाबले विश्वमै अग्रपङ्क्तिमा आफ्नो स्थान सुरक्षित गर्न सफल छन् । यता हाम्रो देशमा भने खाना, नाना र छाना अनि शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता आधारभूत आवश्यकताको अभावमा तड्पिनुपर्ने अवस्था छ । यही आवश्यकताको परिपूर्ति गर्न हरेक वर्ष हजारौं हट्टाकट्टा नवजवानहरु विदेश पलायन हुन्छन् ।
नेपालीहरुले यस्तो विकराल समस्या किन झेल्नुपरेको होला ? भन्ने प्रश्नले पशुपतिको मनलाई बेलाबेला घच्घचाइरहन्थ्यो । त्यसो त उनी आफै पनि वैदेशिक रोजगारका लागि जापान पुगेकी थिइन् । आज भन्दा करिब दुई दशक अघि । ‘त्यो मेरो रहर होइन बाध्यता थियो ।’ उनले बताइन् । तर, विदेश जानु उनको लागि फलदायी भएको उनको भनाइ छ । ‘सन् १९९५ मा जापान गएँ । २००४ मा फर्किएँ । मेरा सबै साथीले घरजग्गा किने तर मैले ४ रोपनी खेत किनेँ । मलाई आफ्नै देशमा कृषि जो गर्नु थियो । तर, सोचेजस्तो नहुँदो रैछ । द्वन्द्वकालको बेला यहाँ बस्नु सुरक्षित हुँदैन भनेर सबैले भने । त्यसैले फेरि कोरियातिर लागेँ । कोरियामा पनि लगभग एक दशक बसेर फर्किएँ । जे होस् विदेश बसेर धेरै कुरा जानेँ । अरु देश विकास हुनु र हाम्रो देश नहुनुमा मूख्य कारण के हो भनेर बुझेँ ।’ पशुपतिले थपिन् ।
‘किन विकसित रहेछन् त अरु देशहरु ?’
‘कामप्रति इमान्दारिता, अनुशासन र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको बारेमा सोच्ने बानी ।’ उनले सरसर्ती बुँदागत रुपमा उत्तर दिइन् ।
‘अनि नेपाल विकसित नहुनुको कारण चाहिँ ?’
‘संस्कारको कमी । कामचोर प्रवृत्ति । मै खाउँ मै लाउँ भन्ने स्वार्थी मन ।’ फेरि पनि उसैगरी उत्तर आयो ।
के हो संस्कार समाज ? कसरी गर्छ काम ?
यस संस्थाको एउटै उद्देश्य भनेको समाजमा असल संस्कार स्थापित गर्ने हो तर, अन्य संस्था जस्तो आफ्नो उद्देश्य प्राप्तिका लागि निश्चित क्रियाकलापमा सरिक हुनुपर्छ भनेर दायरा तोकेको छैन संस्कार समाजले । ७ जना व्यक्तिको शक्रिय संलग्नतामा स्थापना भएको संस्कार समाज परिवारमा अहिले १ सय सदस्य छन् । हरेक सदस्य उत्तिकै सक्रिय र उत्तिकै महत्त्वपूर्ण पनि ।
‘यदि कसैले बाटोमा फोहोर फालेको देख्यौं भने हामी विनम्र भएर नमस्कार गर्छौ र तपाईं जस्तो बुझ्ने मान्छेले यस्तो गरेको सुहाएन भन्दै त्यसो नगर्न अनुरोध गर्छौं । कतिले त फालिसकेको फोहोर पनि टिपेर राख्नुहुन्छ । कोही चाहिँ रिसाएर जानुहुन्छ ।’ पशुपतिले आफ्नो काम गर्ने तरिकालाई उदाहरण दिँदै व्याख्या गरिन् ।
यस संस्थाको कार्यशैली र भारतको सलमान खान अभिनित चलचित्र ‘जय हो’ को कथा कताकता मिलेजस्तो लाग्ने । चलचित्रमा एकजनाले कम्तीमा तीन जनालाई मद्दत गर्ने र त्यो तीन जनाले फेरि छुट्टाछुट्टै अन्य तीन जनालाई मद्दत गर्दा सबैको समस्या सुल्झने विषयलाई बडो सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । त्यसैगरी, संस्कार समाजले पनि व्यक्तिगत रुपमा जहाँसुकै र जोसुकैले गलत काम गरिरहेको देख्नासाथ त्यसो नगर्ने सल्लाह दिन्छ । र जसलाई यस्तो सुझाव दियो उसलाई पनि अरुलाई यसैगरी केही गलत काम गर्दा ‘अन द स्पट’ त्यसो नगर्न अनुरोध गर्न सिकाउँछ ।
त्यसैले यस संस्थाका अभियान्ताहरु वर्षको ३ सय ६५ दिन नै ‘अन ड्युटी’ हुन्छन् । ‘हाम्रो बिदा नै हुँदैन ।’ गुरुङले मुस्कुराउँदै बताइन् ।
हरेक हप्ता काठमाडौंको विभिन्न ठाउँमा गएर सरसफाइ गर्ने तथा प्रत्येक घरको ढोका ढकढकाउँदै जनचेतना जगाउने कार्यक्रम समेत गर्दै आएको उनले लोकपथलाई बताइन् । ‘एउटा ठाउँमा ३ पटकसम्म जान्छौं । एकपटक जाँदा हाम्रो कुरा सुन्नु हुन्छ । अर्को पटकमा बुझ्नु हुन्छ । तेसे पटकसम्म त्यसलाई अवलम्बन पनि गर्नुहुन्छ । हामी गाको ठाउँहरुमा धेरै सुधार भइसकेको छ ।’ यसो भन्दै गर्दा उनको मुहारमा सन्तुष्टिका रेखा सलबलाए ।
संस्थाले यस्तो कार्यक्रम गर्न थालेको ५८ हप्ता भइसक्यो । विस्तारै राजधानीका सबै ठाउँमा पुग्ने पशुपतिको इच्छा छ ।
यस्तो नौलो कन्सेप्टमा संस्था खोल्ने प्रेरणा कसरी जाग्यो ? हामीले प्रश्न ग¥र्यौं । उत्तरमा उनले आफ्नो जीवनको अविस्मरणीय घटना स्मरण गरिन् ।
त्यसताका म कोरियामै थिएँ । एउटा नेपाली भाइ दोकानमा आएर उसको पट्यार लाग्दो नेपाल यात्राका बारेमा बतायो । पेसाले ऊ गाइड थियो । एक कोरियन जोडी विवाह लगत्तै हनिमुनका लागि नेपाल गएका रहेछन् । श्रीमतीको चाहना यूरोपियन देश जाने भएतापनि श्रीमान्को ढिपीले गर्दा उनीहरु नेपाल आएछन् । यहाँ आइसकेपछि उनीहरुको झगडाको बिउ नै नेपाल भएछ । फोहोर, धुवाँधुलो, अस्तव्यस्तता, दोकानदेखि ट्याक्सीसम्म ठग्ने प्रवृति जस्ता यावत् कारणले गर्दा उनीहरुको हनिमुन नै ‘सम्बन्ध विच्छेद’ को कारण हुन पुगेछ । यस्तो सुनेपछि साह्रै नमज्जा लाग्यो । अरु देशको नजरमा हाम्रो देशको कस्तो पहिचान बनिरहेको छ भन्ने पीरले सतायो । अनि नेपाल आएँ । यहाँको हरेक व्यक्तिले संस्कार सिक्न जरुरी छ जस्तो लागेर । शुरुमा गाह्रो भयो । संस्था के हो भनेर बुझाउन । बुझ्नेहरु तत्कालै मेरो मद्दतका लागि जुर्मुराउनुभयो । ७ जनाबाट शुरु भएको संस्थामा अहिले १ सय सदस्य छौं । हाम्रो कामले सकारात्मक प्रतिफल पनि पाइरहेको छ । खुसी छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया