मादल बनाएर गुजारा

कावासोती । नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उनी दिनभर मादल बनाउन्छन् । 

मादल बनाएर नेपालीले पर्याप्त आम्दानी गर्दै आएका छन् । पन्ध्र वर्षदेखि मादल बनाउँदै आएका उनको गुजारा यही पेशाबाट चल्दै आएको छ । मादल बनाएर वार्षिक रुपमा नेपालीले २ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

“मादलको माग अत्यधिक छ,” उनले भने । चाडपर्वमा उनलाई मादल बनाउन भ्याइनभ्याई छ । अन्य समयमा भने काम कम मात्रमा आउने गरेको छ । “मादलका लागि प्रयोग हुने काठको अभाव छ,” नेपालीले भने । 

काठ गोर्खाबाट मगाउने गरेको उनको भनाइ छ । खिर्रो, मौवा, थमरी, सल्ला, साल, सिसौ र सिमलको काठबाट मादलको ढुङ्ग्रो बनाइन्छ । साल र सिसौभन्दा खिर्रो, मौवा, थमरी र सल्लाको काठ मादलका लागि राम्रो मानिन्न्छ । मादल बनाउन काठ, छाला र खरी आवश्यक पर्छ । 

सानो मादल रु एक हजार ५ सय तथा ठूलो मादल पाँच हजार ५ सय सम्ममा बिक्री हुन्छ । पुरानो मादलमा खरी हालेको ६५० देखि एक हजार ५ सय सम्म लाग्ने उनले बताए । 

काठबाहेक छालासहित मर्मत गर्दा  एक हजार ५ सय देखि पाँच हजार ५ सय सम्म खर्च लाग्ने नेपाली बताए । एक दिनमा दुई मादल बनाउन सकिने र खरी तयार भएमा ६ वटासम्म मादलमा खरी भर्न सकिने नेपालीले जानकारी दिए । 

अन्य पेशाभन्दा उनलाई अहिले यही पेशा सजिलो भएको छ । 

बुबाबाट मादल बनाउने काम सिकेको नेपालीले बताए । “हातमा भएको सीप यही हो, यसैमा रमाएको छु”, उनले भने । “हातमा सीप भए बेरोजगार भएर बस्नु पर्दैन रहेछ । यही पेशाको आम्दानीबाट छोरा, छोरीलाई पढाउनेदेखि घर खर्च सबै चलाउँदै आएको छु ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?