काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) मा चाडपर्व र आसन्न आम निर्वाचन २०७९ को प्रभाव पर्न थालेको छ । निर्वाचनसँगै नजिकिँदै गरेको तिहार तथा छठ पर्वका कारण नेप्से सूचक तथा कारोबार रकम दुबैमा उत्साह नदेखिएको बताइएको छ । यो साता चार दिन मात्र खुल्ला रहेको सेयरबजार एक दिन पनि उकालो लाग्न सकेन । साताको तेस्रो दिनभने सार्वजनिक बिदा रहेका कारण बजार बन्द भएको थियो ।
तीन दिन सामान्य तथा एक दिन दोहोरो अंकको गिरावट आएको बजारमा निर्वाचनसँगै नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई कारक तत्वको रुपमा आंकलन गरिएको छ । घट्दो बजारले गर्दा साताभर लगानीकर्ताहरु निराश भएका छन् ।
जनअनुसार सातामा नेप्से १८ सय ४४ दशमलव १४ अंकमा सिमित भयो भने (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६३ दशमलव पाँच अंकमा सिमित हुन पुग्यो । दुुई सय २१ वटा कम्पनीहरुको यो साता ६७ हजार नौ सय ५५ पटकको कारोबारमा ७९ लाख चार हजार सात सय पाँच कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा यो साता कुल कारोबार रकम दुई अर्ब ४७ करोड छ लाख ४२ हजार ५९ रुपैयाँमा सिमित हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो ।
गत साता भने नेप्सेमा तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार पाँच सय ५३ रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त साता दुुई सय ३३ वटा कम्पनीहरुको ७६ हजार चार सय ९१ पटकको कारोबारमा एक करोड २२ लाख ४० हजार चार सय ११ कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
यो साता नेप्सेको पहिलो, दोस्रो, चौथो दिन र पाँचौं दिन लगातार नेप्से घटेको थियो । जसमध्ये पहिलो दिन नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ झरेको नेप्से दोस्रो दिन पनि दुई दशमलव ६१ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ३३ अंकमा झरेको थियो । तेस्रो दिन सार्वजनिक बिदा परेकाकारण बन्द रहेको नेप्से चौथो कारोबार दिन भने पुन १२ दशमलव ८१ अंकले घटेर १८ सय ४५ दशमलव ५१ अंकमा झरेको थियो । पाँचौ दिन पनि नेप्से एक दशमलव ३८ अंकले घटेर १८ सय ४४ दशमलव १४ अंकमा झरेको थियो ।
यसैगरी पहिलो दिन एक दशमलव ७२ अंकले घटेर तीन सय ६५ दशमलव ४२ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने शुन्य दशमलव दुई अंकले बढेर तीन सय ६५ दशमलव ६२ अंकमा चढेको थियो । चौंथो दिन भने दुई दशमलव ६६ अंकले घटेर तीन सय ६२ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स पाँचौ दिन भने शुन्य दशमलव शुन्य नौ अंकले बढेर तीन सय ६३ दशमलव पाँच अंकमा चढेको थियो ।
यो साता प्राईम कर्मसियल बैंक, सोल्टी होटल, नबिल बैंक लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नेपाल टेलिकमलगायतका कम्पनीहरु आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्सलगायतका कम्पनीहरुको बढी रकम कारोबार भएका छन् ।
यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता कारोबार रकम
पहिलो दिन २२१ १६७७६ २५७४७८५ ८०३५२५५३३
दोस्रो दिन २१९ १३६०९ १६३१३४९ ५१५८१८९९०
तेस्रो दिन सार्वजनिक बिदा — — —
चौंथो दिन २१६ २०२७४ २१५१७१४ ६४३६०७९७५
पाँचौै दिन २२१ १७२९६ १५४६८५७ ५०७६८९५६१
कुुल ६७९५५ ७९०४७०५ २४७०६४२०५९
(श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया