पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत विराटनगर टाईटन्सले पहिलो जित हात पारेको छ ।
पोखरा रंगशालामा बुधवार भएको दोस्रो खेलमा विराटनगर टाईटन्सले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । १ सय ४१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको बुटवलको पारी ८ विकेट क्षतीमा मात्र १ सय २८ रनमा समेटिएको थियो ।
बुटवलकालागि भिम सार्कीले अर्धशतकिय पारी खेले । उनले ५० रन जोडे । सागर पुनले २९ रन तथा शंकर रानाले २३ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगर टाइटनसलेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो ।
बिराटनगरका लागि मोहम्मद जायद आलमले अर्धशतकिय पारी खेले । उनले ४५ बलमा ६ चौका र ५ छक्काको मदतमा ७२ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै प्रदीप ऐरीले ४१ रन बनाए । राजु रिजालले ८ रन जोड्न सफल भए भने राजेश पुलामी १ रनमा नै पेभेलियनमा फर्किए ।
पहिलो विकेटको रुपमा सुनिल धमला शुन्य रनमा नै आउट भए । जितेन्द्र सिंह ठकुरी २ रनमा तथा पुष्प थापा ४ रनमा अविजित रहे । बुटवलका ललितसिंह भन्डारीले २ तथा विपीन खत्री, मोहम्मद संसाद शेख र सागर पुनले समान १ विकेट लिए ।
जितपछि विराटनगर प्ले अफमा पुग्ने गणितीय सम्भावनालाई जीवितै राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया