यू-१५ साफ फुटबल : नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । नेपाल जारी चौथो संस्करणको यू-१५ साफ फुटबल च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनल खोलमा बलियो प्रतिद्धन्दी पाकिस्तानसँग ४-० पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएको थियो । शुरुवाती समयमा नेपालले पाकिस्तानलाई निक्कै कडा टक्कर दिएको थियो । तर, दोस्रो हाफमा भने पाकिस्तानले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोलको वर्षा गरेको थियो । 

खेलको ५४ औँ मिनेटमा नेपालका जान लिम्बुले आत्मघाती गोल गरे । पाकिस्तानका खेलाडीले क्रस गरेको बललाई क्लियर गर्न खोज्दा उनले आत्मघाती गोल गर्न पुगे । 

त्यस्तै ५९ औँ मिनेटमा जान लिम्बुले पाकिस्तानी खेलाडीलाई डि–बक्स एरियामा लगाएपछि पाकिस्तानले पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई मोहम्मद उल्लाहले सदुपयोग गर्दै गोल गरे । ६९ औँ मिनेटमा मोहम्मदले नै पुनः अर्को पेनाल्टीमार्फत गोल गरे । चौथो गोल भने मुदस्सर नजरले गरे । 

गत वर्ष सम्पन्न भएको यसै प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि जित्नबाट बञ्चित भएको थियो । 

यसअघि नेपालले नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको भने दोस्रो बंगलादेशसँग २–१ ले पराजित भएको थियो । बिहीवार नै भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । 

अब उपाधिका लागि पाकिस्तान र बंगलादेशविच प्रतिस्पर्धा हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?