नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन : अध्यक्ष कोइराला

काठमाडौं । । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल अब अल्झाएर राख्न नहुने धारणा राखे । 

उनले भने,‘पप्पु एक्लैले प्रस्ताव हालेको होईन, उसले चिनीयाँ कम्पनी मुख्य साझेदार राखेर प्रस्ताव हालेको हो । तर, अहिले पप्पुको नाम अगाडि आएको छ । सार्वजनिक खरिद ऐन र मौजुदा नियमानुसार पप्पुको प्रस्ताव स्विकृत भइसकेको छ । अब उसले नै ठेक्का पाउनुपर्छ । नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुले नै पाउनुपर्छ । कुनै नियम र कानुनले अब उसलाई रोक्दैन् । पप्पु कालोसुचीमा परेको कम्पनी होइन । कालोसुचीमा परेको भए त उ ठेक्का प्रक्रियामा सहभागी नै हुन पाउँदैन थियो ।’

फरक प्रसंगमा उनले निर्माण व्यवसायीहरुको समस्यालाई सरकारले पनि आफ्नो समस्या ठान्नुपर्ने धारणा राखे । उनले भने,‘ठेकेदारहरु २० प्रतिशत खराबी छ भने सरकारको ८० प्रतिशत खराबी छ । सरकारको नियम नै खराब छ । सरकार जवाफदेही बन्नुपर्छ । अहिलेको चलन चल्तीअनुसार सरकार चल्नुपर्छ ।’

मिडिया पप्पुको पछि लाग्नुको कारण आफूले नबुझेको उनले बताए । उनले भने,‘पप्पुले गलत गरेको छ भने कारबाही गर्नुपर्छ । समयमै काम गर्न सक्दैन भने कारबाही गर्नुपर्छ ?’

राष्ट्र बैंकको भवन निर्माणको यो ठेक्कामा पप्पुले २ अर्ब ६ करोड रुपैयाँ प्रस्ताव हालेको छ भने अच्युत खरेलको समानान्तरले २ अर्ब ८ करोड रुपैयाँको हालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?