तीन वर्षदेखि बन्द रहेको होटल एभरेष्ट पुनः सञ्चालनमा आउने

काठमाडौं । सेयर हिस्सा विवादका कारण विगत तीन वर्षदेखि बन्द रहेको नयाँ बानेश्वरको पाँचचारे होटल एभरेष्ट पुनः सञ्चालनमा आउने भएको छ । 

होटलको सेयर लगानिको विषयमा विवाद बढेपछि २०७२ सालदेखि सो होटल पूर्ण रुपमा बन्द भएको थियो । 

होटलको सेयर विवाद मुद्दा काठमाडौं जिल्ला अदालतबाट शुरु भएको थियो । र पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेर टुंगिएको थियो ।

वैशाख १२ गते गएको भूकम्पबाट होटलमा सामान्य रुपमा क्षति पुगेको थियो । तर, पुनः वैशाख २९ गते नै गएको पराकम्पनपछि होटलमा बस्न नमिल्ने भन्दै रातो स्टीकर टाँसिएको थियो ।

होटल बन्द हुनासाथ सैयौं मजदुरहरुले रोजगारी गुमेको भन्दै आन्दोलन समेत गरेका थिए । 

भूकम्पले क्षति पुगेको कारण रातो स्टीकर टाँसिएको करिब तीन वर्षपछि पुनर्निर्माण होटल सञ्चालनमा आउने भएको हो ।

होटल स्रोतका अनुसार ६ महिनामा पुनर्निर्माण सम्पन्न गर्ने गरी होटल व्यवस्थापनले आरएस निर्माण सेवालाई ठेक्का दिएको छ । तोकिएको मितिमा होटल निर्माण सम्पन्न भए आगामी नयाँ वर्ष (२०७६ साल) देखि एभरेष्ट होटल पुनः सञ्चालनमा आउने स्रोतको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?