इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल एक-एक गोलको बराबरीमा सकिएको छ । 

शनिवार राति सम्पन्न भएको खेलमा लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले आर्सनललाई बराबरीमा रोक्दै समान एक-एक अंक बाडेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । 

दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको लिभरपुलका लागि ६१ औँ मिनेटमा जेम्स मिल्नरले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

मिल्नरले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको आर्सनलका लागि ८२ औँ मिनेटमा अलेक्जान्द्रे लाकाजेटिले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल भएन र खेल एक-एक गोलको बराबरीमा सकियो । 

बराबरीपछि लिभरपुलले ११ खेलबाट २७ अंक बनाएको छ भने २३ अंकका साथ आर्सनल पाँचौ स्थानमा छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नमाउथलाई २-१ गोल अन्तरले पराजित ग-यो । म्यान्चेस्टर युनाइटेडको जीतमा खेलको ३५ औँ मिनेटमा मार्सल र खेलको इन्ज्युरी सममा रासफोर्डले समान एक-एक गोल गरे ।

यता बर्नमाउथका लागि खेलको ११ औँ मिनेटमा विल्सनले एक गोल गरे । जीतपछि म्यान्चेस्टर युनाइटेडले २० अंक बनाउँदै लिगको सातौं स्थानमा छ । 

कार्डिफ सिटी लिचेस्टर सिटीसँग १-० गोल अन्तरले पराजित भएको छ । खेल शुरु हुनु भन्दा पहिले लिचेस्टर सिटीका खेलाडीहरुले क्लबको थाइ मालिक स्व.विजय श्रीवाडांदापराभालाई सम्झदै केही मौनधारण समेत गरेका थिए ।

लिचेस्टरका लागि खेलको ५५ औँ मिनेटमा ग्रेले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जीतपछि लिचेस्टर सिटी १६ अंकका साथ लिगको १० औँ स्थानमा छ । 

शनिवार राति नै भएको अन्य खेलहरुमा इभर्टनले ब्राइटनलाई ३-१ गोल अन्तरले, न्युक्यासलले वाटफेर्डलाई १-० गोल अन्तरले, वेस्टह्यामले बर्नलेलाई ४-२ गोल अन्तरले तथा टोट्नह्यामले उल्भस्लाई ३-२ गोल अन्तरले पराजित गर्न सफल भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?