काठमाडौं । चलचित्र ‘गुनगुन’ यतिबेला गुमनाम छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मको बारेमा खासै चाइँचुइँ छैन । चलचित्रकी मुख्य कलाकार ‘सञ्चिता’ लुइँटेल प्रचारमा देखिएकी छैनिन् । अरु कलाकार दर्शकका लागि त्यति धेरै चर्चित होइनन् ।
केही महिनाअघि फिल्म युनिटले आयोजना गरेको औपचारिक कार्यक्रममा पनि सञ्चिता देखिइनन् । अहिले फिल्मको रिलिजको बेलामा पनि सञ्चिताले नाकमुख देखाएकी छैनिन् । फोन गर्दा पनि उनले विभिन्न काम देखाएर समय नमिलाएको फिल्म युनिट बताउँछ ।
पछिल्लो समय निखिल उप्रेतीसँग बिहे गरेपछि फिल्ममा कम देखिए पनि अभिनय गरेको फिल्मलाई भने समय दिनुपर्ने थियो ।
आइतवार काठमाडौंमा फिल्मका कलाकारसँग भेटघाट कार्यक्रमको आयोजना राखिएको थियो । उक्त कार्यक्रममा पनि सञ्चिता उपस्थित भइनन् । यही कुरालाई ख्याल गरेर पत्रकारले सोधे, ‘मुख्य भूमिकामा भए पनि सञ्चिता लुँइटेल प्रचारमा खासै देखिनुभएको छैन नि?’
यसको उत्तर दिँदै निर्देशक पुकार भट्टराईले उहाँ घरायशी कामले गर्दा केही व्यस्त भएको बताए । कुरामा कुरा थप्दै उनले भने, ‘हामीले फोन गर्दा व्यस्त छु भन्नुभयो, हामीलाई पनि उहाँ नहुँदा खल्लो लागेको छ, प्रचारको बेलामा त उहाँले पनि बुझ्नुपर्ने हो ।’
सञ्चिता साँच्चै व्यस्त भइन् या इग्नोर गरिन्, त्यो एउटा कुरा रह्यो । तर, उनी मिडियाबाट गुमनाम हुँदा चाहिँ उनलाई पनि घाटा नै छ । किनकि, सञ्चिताको करिअरका लागि पनि यो फिल्म चल्नुपर्ने फिल्म थियो ।
फिल्म युनिटका अनुसार यो फिल्म सञ्चिताकै कथामा आधारित छ । निर्देशकले फिल्म एक विवाहित महिलाको पारिवारिक कथामाथि बनेको बताए । उनका अनुसार फिल्ममा प्रेमलाई विभिन्न कोणबाट देखाउन खोजिएको छ । चलचित्रमा सञ्चिताका अलावा नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
चलचित्रलाई पारिवारिक प्रेमकथा भनिएको छ । चलचित्रमा लेखन तथा निर्देशन पुराना कलाकार पुकार भट्टराईको रहेको छ । यो फिल्ममा उनको डेब्यु निर्देशन समेत रहेको छ । यस्तै चलचित्रमा एकराज उप्रेती र सहदेव पौडेलेको संयुक्त लगानी रहेको छ । चलचित्र आउँदो कार्तिक ३० गतेदेखि प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया