पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट अन्तर्गत चितवन राइनोजले पोखरा पल्टनसामु १ सय ६१ रनको चुनौती प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा मंगलवार भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६० रनको योगफल तयार पारेको छ ।
चितवनले ९ रन बनाएको स्थितीमा पहिलो विकेट गुमाएको थियो ।
ओपनर ब्याट्सम्यान हरिशंकर शाह आठ रनमा आउट भएका थिए । कप्तान पारस खड्काले अर्धशतकिय पारी खेले । उनले अनिल शाहसँग ७६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । खड्काले ३६ बलमा ९ चौकाको मदतमा जारी प्रतियोगितामा पहिलो अर्धशतकिय पारी खेलेका हुन् ।
अनिल ३७ रनमा पेभेलियनमा फर्किए । त्यस्तै सन्नी पटेलले ४ छक्का र ३ चौकाको मदतमा ४२ रनको योगदान दिए । आरिफ शेखले १४ रन जोडे ।
पोखराका लागि कृष्ण कार्कीले २ विकेट तथा मोहमद नाभिद र ललित नारायण राजवंशीले समान १-१ विकेट लिए ।
यो प्रतियोगिताको विजेताले नगद २७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले १० लाख रुपैया हात पार्नेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले एक -एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया